पछिल्लो समयमा संगीत र गायनका क्षेत्रमा भाइरल भइरहेका लोकप्रिय गायक तिलकसिं पेलाको नयाँ गीत बजारमा आउने भएको छ।
डेउडा गीतका शब्दलाई क्लासिकल म्युजिकमा सङ्गीतवद्ध गरेर उनले नौलो प्रयोग गरेका छन्।
तीन वर्षअघि आफ्नो फेसबुक पेजमा सामान्य ढंगले तवालाको साथमा गुनगुनाएको भिडियो अपलोड गर्दा मात्र पनि उक्त गीतले श्रोत दर्शकहरुबाट वाहावाही पाएको थियो। सोही गीत यसपल्ट भिडियोसहित बजारमा ल्याउन लागेको कुरा गायक पेलाले बताए।
‘यो गीत धेरैले मन पराउनुभएको गीतमध्येको एक हो। के लत बस्यो सँगसँगै ‘देउसरा आइगै अर्थात् देउसरा आइहाली’ बोलको यो गीत पनि रेकर्ड गरिएको थियो। यसको भिडियो बनाउन आवश्यक ठानेर बजारमा ल्याउन अलि ढिलाइ भएको हो। अब भिडियो सुटिङको काम सकियो। केही दिनमै युट्युब च्यानलमा अपलोड गर्नेर्छौँ’, उनले भने।
पेलाको स्वर, सङ्गीत रहेको उक्त गीतलाई पछिल्लो समयका चर्चित एरेन्जर रिदम कडेलले एरेन्ज रहेका हुन् भने कवि तथा गीतकार हेमन्त विवशले लेखेका हुन्। चर्चित निर्देशक बाबुराजा केसी (उज्वल) को निर्देशन तथा प्रेम थापाको सहनिर्देशनमा तयार हुन लागेको उक्त भिडियोमा मुख्य अभिनयमा देवु वोरा र योगिता दाहाल रहेका छन्।
सुदूरपश्चिमको संस्कृति झल्काउने किसिमले मौलिक भेषभूषा र परम्परामा आधारित रहेर छायाङ्कन गरिएको उक्त भिडियोमा सुदूरपश्चिमको छलिया, हुड्केली, होली, धामी काँप्ने जस्ता दृश्यहरु देख्न सकिनेछन् ।