वडा-वडामै नुन पठाउने तयारी गर्दै साल्ट ट्रेडिङ  

नुन प्राप्तिका लागि नागरिकले ठूलै रस्साकस्सी गर्नुपर्ने जुम्लामा सहजताका लागि वडा-वडामै नुन पठाउने तयारी थालिएको छ।

अनुदानमा आउने नुन प्रत्येक वडा कार्यालयको समन्वय पठाउने तयारी भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए।

'नुन वडामै पठाइदिएमा लिन पनि सहज हुने र नुनकै लागि सदरमुकाम खलंगा पुग्नुपर्ने झन्झट हट्नेछ,' उनले भने। 

उनका अनुसार गोदाममा नुनको अभाव थिएन तर पालो मिचेर नुन लैजान खोज्दा लाइनमा लागेका उपभोक्ताहरुबाटै कार्यालयमा उल्टै ढुंगामुढा भयो।

नुन वितरणको क्रममा आइतबार साल्ट ट्रेडिङको कार्यालयमा ढुंगामुढा भएकाे थियाे। त्यसैले सहजैरुपमा उपभोक्ताले नुन पाउने व्यवस्था गर्न लागिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाबारे नेपाल साल्ट ट्रेनिङ कार्यालयमा बुझ्ने काम भएको बताए। 

उनले भने, 'क्षतिको अवस्था र प्रकृति हेर्दा नुनको प्रभावकारी व्यवस्थापन वडामै हुने निष्कर्षसहित वडामै वितरण गर्न निर्देशन गरियो।' 

प्रत्येक वडामा नुन पठाउने निर्णय यसअघि नै भइसकेको थियाे। नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाका प्रमुख मल्लले अब वडाको समन्वयमा वडामै वितरण गर्ने निर्णयको कार्यान्वयन गर्ने बताए।

नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको र नागरिकलाई सहज नुन पाउने व्यवस्था गर्न स्थानीय सरकारसँगको समन्वयमा अगाडि बढाइने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै भएको थिएन। तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक छ। 

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख मल्लका अनुसार गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरैमात्र दुई हजार ८० क्विन्टल नुन थप भएको छ।
 

प्रकाशित मिति: : 2023-07-18 19:33:00

प्रतिकृया दिनुहोस्