अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ । तर, यो जीत उसका लागि सहज भएन । खेलको ५२औं मिनेटमा पाएको पेनल्टी अवसरलाई गोल गर्दै उसले यो जीत हात पारेको हो ।
आयरल्याण्डले कडा टक्कर दिएको खेलमा अस्ट्रेलियाले सोचेजस्तो सहज जीत हात पार्न सकेन । जीतका लागि पेनल्टीको सहारा लिनु पर्यो ।
समूह बी अन्तर्गतको यो पहिलो खेलमा अस्ट्रेलिया स्टार खेलाडी साम केर बिना नै मैदानमा उत्रेको थियो । उनको अनुपस्थितिमा कप्तानी गरिरहेकी क्याट्लीले पेनल्टी गोल गरेकी थिइन् ।
यसअघि न्युजिल्याण्डको अकल्याण्डमा सहआयोजक न्युजिल्याण्ड र नर्वेबीच भएको खेलमा फिफा बरियतामा २६औं स्थानमा रहेको न्युजिल्याण्डले १२औं स्थानमा रहेको नर्वेलाई १-० ले पराजित गरेको थियो ।
सहआयोजक न्युजिल्याण्डले जितेकोमा अस्ट्रेलियालाई राहत मिले पनि फिफा बरियतामा माथिल्लो स्थानमा रहेको नर्वेको हारले अस्ट्रेलियालाई आशंका जन्माइदिएको छ ।
महिला विश्वकपको यो नवौं संस्करण हो । ३२ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा अष्ट्रेलियामा ३५ र न्युजिल्याण्डमा २९ गरी ६४ खेल हुनेछन् । फिफा महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा चीनले आयोजना गरेको थियो ।