‘चामल नबेच्ने भारतीय नीति नेपालका लागि अवसर हुनसक्छ’

चार दशकअघि चामल निर्यात गर्ने नेपाललाई अहिले आयातको भर

BreaknLinks
BreaknLinks

भारतले बिहीबारदेखि गैर–बासमती सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको छ।

भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेसँगै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हाे।

चामलको आन्तरिक मूल्य बढेको भन्दै प्रतिबन्ध लगाउनु परेको भारतको खाद्य मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। खुद्रा मूल्य एक वर्षमा ११.५ प्रतिशत र पछिल्लो महिनामा तीन प्रतिशतले बढेको छ।

उक्त विज्ञप्तिअनुसार निर्यात हुने कुल चामलको करिब २५ प्रतिशत गैर–बासमती सेतो चामलले ओगटेको छ।

आर्थिक वर्ष सन् २०२२/०२३ मा भारतबाट कुल गैर–बासमती सेतो चामलको निर्यात ४२ लाख डलर नजिक पुगेको थियो। अघिल्लो वर्ष निर्यात २६.२ मिलियन डलर रहेको थियो।

भारतको चामल निर्यात प्रतिबन्धले नेपालमा के असर पर्छ?

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार भारत विश्वकै अग्रणी चामल निर्यात गर्ने मुलुक हो, जसले विश्व चामल व्यापारमा करिब ४० प्रतिशत हिस्सा ओगट्छ। भारत चीनपछि दोस्रो धेरै धान फलाउने मुलुक पनि हो। भारतले चामल निर्यातमा रोक लगाएपछि संसारभरि खाद्यान्नको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।

नेपालमा ४० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टरमा मात्र धान रोपाइँ हुने गरेको छ। त्यसमा पनि सिँचाइको सुविधा एकतिहाइमा पनि छैन।

यसबाहेक समयमा रासायनिक मल नपाउने, प्रविधिको पहुँच अभावजस्ता आधारभूत समस्या धानको उत्पादकत्व बढाउन चुनौती बनेका छन्। ६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित भए पनि बर्सेनि तीन खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेका छन्।

नेपालमा भारतबाट ठूलो परिमाणमा चामत आयात हुँदै आएको छ। भारतबाट थाइल्यान्ड, इटाली, स्पेन, श्रीलंका, अमेरिका, नेपाललगायतका १५० भन्दा बढी देशमा चामल निर्यात हुन्छ। सन् २०२१–२२ मा भारतबाट २ करोड १२ लाख टन चामल निर्यात भएको थियो।

भारत सरकारले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने कृषि विभागका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ सुनिलकुमार सिंह बताउँछन्।

उनका अनुसार अहिले नेपाल भारतबाट आउने खाद्यानमा निर्भर हुनुपरेको कारण चामल निर्यात प्रतिबन्धले असर पर्ने देखिन्छन्। ‘अहिले नेपालमा समयमै रोपाइँ भएको छैन, अहिलेसम्म रोपाइँ सकिनुपर्थ्याे। तर अझै बाँकी नै छ। त्यहीकारण नेपाल खाद्यानको लागि अन्य देशहरूसँग निर्भर हुनुपर्छ’, उनले भने।

खडेरी हुने डरले चामल निर्यातमा रोक लगाएको भारतसँग २-३ वर्षपछि निर्भर हुनुनपर्ने उनकाे विश्वास छ। भारतले खाद्यान निर्यातमा प्रतिबन्ध गर्नु नेपालको लागि फाइदाजनक सावित हुने उनकाे ठम्याइ छ। अब राज्यले कृषिलाई प्राथमिकता दिएर त्यसमा लगानी बढाउनेछ।

भारतले लगाएकाे प्रतिबन्धकाे कारण नेपालमा असर परेपनि नेपालीहरूले मकै र रोटी खान सिक्ने उनकाे बुझाइ छ। नेपालीहरूले आवश्यकताभन्दा धेरै खाद्यान ओगट्ने गरेको बताउँदै उनले भने, ‘चामलमा भारतले लगाएकाे राेक रहिरह्याे भने नेपालीहरूले भात मात्र होइन, मकै र रोटी पनि खान जान्ने छन्।’

चामल निर्यातमा बिहीबारदेखि प्रतिबन्ध लगाएकाे भारत सरकारले गत सेप्टेम्बरमा बासमतीबाहेकका अन्य चामल निर्यातमा २० प्रतिशत कर लाग्ने बनाएको थियो। उत्पादन कम भएको भन्दै भारतले खाद्य सुरक्षाको नीति अपनाएर निर्यातमा कडाइ गरेको थियो। उक्त निर्णयलाई भारत सरकारले संशोधन गर्दै निर्यातमा राेक लगाएकाे हाे।

गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा सातादिनमै चामलको मूल्य बढेको थियो। सोहीकारण भारतले अहिले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको मूल्य बढ्नेछ।

भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा मूल्यमा प्रत्यक्ष असर देखिने नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका महासचिव दिपककुमार पौडेल बताउँछन्।

‘नेपालले वार्षिक ६ लाख मेट्रिक टन ल्याउने कोटाको व्यवस्था छ। सरकारले तोकेको कोटाको कम हिस्सा मात्रै ल्याउन बाँकी छ। जसले गर्दा आगामी दिनमा चामलको मूल्य बढ्नेछ’, उनले बिएल नेपाली सेवासँग भने, ‘मूल्य कति बढ्छ, त्यसमा यकिन छैन तर अवश्य मूल्य बढ्नेछ।’

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालको लागि अवसर

देशको कुल खाद्यान्न आपूर्तिको करिब आधा हिस्सा धान बालीको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा चामलको माग पूर्ति गर्न वार्षिक ७० लाख मेट्रिक टन हाराहारीमा धान आवश्यक पर्छ।

त्यसमध्ये करिब ५५ लाख मेट्रिक टन धान नेपालमै उत्पादन हुन्छ भने बाँकी १५ लाख मेट्रिक टन हाराहारीमा धान वा यसअनुसारको चामल भारतबाट आयात हुन्छ। अर्थात्, देशभित्र आवश्यक पर्ने चामलको करिब २१ प्रतिशत हिस्सा भारतबाट आयात हुन्छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा झन्डै ५५ लाख टन धान उत्पादन हुन गरेको छ। अझै १५ लाख टन धान अपुग छ। तर सरकारी आँकलनभन्दा धेरैको धान-चामल आयात हुने गरेको छ।

भन्सार विभागका अनुसार पछिल्लो ११ महिनामा मात्रै ४५ अर्बभन्दा बढीको धान-चामल नेपालमा आयात भएको छ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको अवस्थामा नेपाललाई असर परेपनि त्यो एउटा अवसर भएको प्रवक्ता सञ्जेल बताउँछन्।

उनका अनुसार भारतबाट आउने चामललाई मुख्य गरी चार किसिममा विभाजन गरिएको छ, ‘मोटा, मध्यम, मसिनो र बास्नादार’।

‘भारतबाट आउने चामलमध्ये करिब आधा परिमाण मोटा र मध्यम चामलको छ भने बाँकी आधा मसिनो र बास्नादार छ। यो समग्रमा गैर–बासमती चामल हो। त्यसैले भारतले लगाएको रोकले हामीलाई असर पर्ने देखिन्छ’, उनले भने, ‘तर उत्पादन बढाउनका लागि एउटा अवसर पनि हो।’

धानको नयाँ जात विकास गरी उत्पादन बढाउन सके भारतसँग चामल आयात निर्भरता घटाउन सकिने उनले बताए।

‘भारतले गरेकाे निर्णयले केही त असर गर्छ तर पछिल्लो वर्षमा नेपालमा धान-चामलको उत्पादन बढ्दो क्रममा र आयात घट्दो क्रममा रहेको छ। यसले हामीलाई आत्मनिर्भरका लागि मौका हुने देखिन्छ’, उनले भने, ‘हाइब्रिड जातको धान उत्पादन गर्न सके भारतसँग निर्भर हुनुपर्ने अवस्था खासै हुँदैन।’

खाद्य व्यवस्थापनका लागि वैकल्पिक उपायहरू खाेजेर खाद्यको विविधीकरण गर्न सके उक्त संकटबाट जोगिन सकिने उनकाे भनाइ छ।

चार दशकअघि चामल निर्यात गर्ने नेपाललाई अहिले आयातको भर

सन् १९६० को दशकमा नेपालले धान र चामलको निर्यात गर्थ्यो। त्यसबेला सरकारले धान–चामल निर्यात कम्पनी नै स्थापना गरेको थियो। त्यतिबेला भारत भने धान र चामल आयात गर्थ्यो।

सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको कृषिविज्ञ डा.राजेन्द्र उप्रेती बताउँछन्। त्याेबेला उक्त परिमाणको चामलको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो।

यो सन् १९८५ सम्म घट्दो क्रममा चलेको थियो। सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो। सन् १९९० को दशकमा आयात उकालो लाग्न थालेपछि नेपाल निर्यातबाट धान–चामल आयात गर्ने देशमा परिणत हुन थाल्याे।

त्याे समयमा नेपाल निर्यात गर्ने मुख्य देशमध्ये एक थियो तर अहिले भारत धान–चामल निर्यात गर्ने ठूलो देश बनेको छ भने नेपाल आयात गर्ने देश।

अघिल्लाे आवको ११ महिनाको अवधिमा नेपालले ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको आयात गरेको छ। सोही अवधिमा नेपालले गत वर्ष ३० अर्ब ८२ करोड ५८ लाख रुपैयाँको चामल आयात गरेको थियो। जुन गत वर्षको तुलनामा चालु आवमा ५६.२ प्रतिशतले बढी आयात भएको छ।

उक्त चामल भारत, अमेरिका र चीनबाट आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ। जसमा भारतबाट मात्रै ४७ अर्ब ९४ करोड २१ लाख ५८ हजार, अमेरिकाबाट १५ करोड १८ लाख ६१ हजार, चीनबाट ६ करोड ७१ लाह ३३ हजार रुपैयाँको चामल आयात गरेको छ।

चालु आवमा गत वर्षको तुलनामा भारतबाट ५७.२ प्रतिशत, अमेरिकाबाट २६०.२ प्रतिशत र चीनबाट ३.३ प्रतिशत बढीले आयात भएको छ।

त्यस्तै, चालु आवको ११ महिनाको अवधिमा नेपालले १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात गरेको छ। उक्त मकै भारतबाट १३ अर्ब ६८ करोड ८६ लाख ८३ हजारको, अर्जेटिनाबाट ५२ करोड ८२ लाख २२ हजारको र ब्राजिलबाट १८ करोड ४८ लाख २५ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ।

चालु आवमा देशबाट क्रमशः ४७, १२१ र ३६६ प्रतिशतले मकै आयातमा वृद्धि भएको छ। साथै, नेपालले सोही अवधिमा ११ अर्ब २९ करोड ७० लाख ३२ हजार रुपैयाँ बराबर गहुँ आयात गर्दा ११ अर्ब २९ करोड ६८ लाख ९४ हजारको गहुँ भारतबाट आयात भएको छ। जसमा गहुँ आयातमा ६३.४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँदछ।

प्रकाशित मिति: : 2023-07-25 19:04:00

प्रतिकृया दिनुहोस्