एनआरएनए कतारको ४२ पदका लागि ८४ जनाको उम्मेद्वारी

दुई जना निर्विरोध

गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारले दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत विभिन्न पदको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ।

गत सोमबार सार्वजनिक गरिएको नामावलीको विरणअनुसार सम्पूर्ण पदमा गरी कुल ८४ जनाले मनोनयन दर्ता गरेको छन्।

जसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ६ सदस्यको लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आइसीसीको सदस्यको लागि नारायणप्रसाद ढुङ्गाना, मिनराज वाग्ले, हैदर अलि अन्सरी, दुर्गाप्रसाद प्याकुरेल, विक्रम कार्की, तेज कटुवाल, प्रेमप्रसाद चलाउने, दिपजङ्ग शाह र श्रीकृष्ण भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो।

त्यस्तै अध्यक्ष पदको लागि पदम गिरी, रमेश भट्ट र जैबि राईबीच प्रतिस्पर्धा हुने भएको छ।

भने, प्रथम र द्धितीय उपाध्यक्ष पदको लागि ३–३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी तृतीय उपाध्यक्षमा २, महिला उपाध्यक्षमा २, युवा उपाध्यक्षमा २, महासचिवमा २, सचिवमा ७, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा समान ३–३, सदस्यमा ३८, लेखा समिति संयोजकमा २ र लेखा समिति सदस्यमा ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

महिला संयोजकमा शुष्मा खतिवाडा (कटुवाल) तथा युवा संयोजकमा मेहेदसिंह तामाङ भने निर्विरोध निर्वाचित भएका छन्।

आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि उम्मेदवारी– दिपजङ्ग शाह

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को सदस्यको उम्मेदवारी दर्ता गरेको दिपजङ्ग शाहले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

हाल एनसीसी कतारको सचिव पदमा रहेर गैरआवसीय नेपालीहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएका शाहले विगतदेखि आफूले गरेका काम र उपलब्धीहरुको स्मरण गर्दै भविष्यमा पनि अझ सशक्त रुपमा काम गर्ने बताए।

‘अग्रजहरुको अनुभव र आर्जनलाई सम्मान गर्दै विचार र ज्ञानको ठुलो भण्डार रहेको गैरआवासीय नेपाली संघको उद्देश्य र एनआरएन अभियानबाट अहिलेसम्म प्राप्त उपलब्धीलाई हृदयंगम गर्दै यसको मर्म, भावना र उद्देश्य अनुरुप संस्थालाई अघि बढाउन हरदम लागिरहने अठोटका साथ यो उम्मेद्वारी प्रस्तुत गरेको छु’, उनले भने।

शाहले पत्रकारितासँगै विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थामा आवद्ध भएर काम गर्दै आइरहेका छन्।

दिपजङ्ग शाहको प्रतिवद्धता :

आदरणीय कतारवासी नेपाली बुबा–आमा, दाजु–भाइ तथा दिदी–बहिनीहरु, कतारमा स्थापीत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, गैरआवासीय नेपाली संघ तथा सामाजिक अभियन्ताज्यूहरू, बुद्धिजीवी तथा व्यवसायीज्यूहरु, परिषद् सदस्यज्यूहरू एवम् पत्रकार मित्रहरुमा हार्दिक नमस्कार।

गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरु बहन गर्दै हाल एनसीसी कतारको सचिवमा रही गैरआवासीय नेपाली संघमा देखिएको सङ्गीन मोडलाई सहज अवतरण गर्न अविचलित भई, डर धम्की र प्रलोभनमा नपरी एक सच्चा सिपाहीको रुपमा अहोरात्र खटिइरहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारलाई पारदर्शी, समावेशी एवम् विश्वसनीय बनाउँदै राष्ट्रिय समन्वय परिषद्का सम्भावित समस्या, अवसर र गतिबिधिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग जोड्नुपर्ने अपरिहार्य आवस्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १०औँ राष्ट्रिय महाधिवेशनमार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिएको यहाँहरुलाई  अवगत गराउँदछु।

पत्रकारितामा स्नातकोत्तरसम्म र  कानुन संकायमा स्नातकसम्मको अध्ययनलाई सदुपयोग गर्दै पत्रकारिता, सामाजिक उत्थान, मानवअधिकार र न्यायका क्षेत्रमा कृयाशील रहँदै झण्डै दुई दशकभन्दा लामो अनुभवलाई अवलम्बन गर्दै गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष सहभागी हुँदै आए पनि सन २०१७ मा मात्रै पञ्जिकृत सदस्य हुँदै मध्यपूर्व मिडिया संयोजक, आइसीसी युवा विभाग अन्तर्गत ग्लोबल मिडिया संयोजक, एनसीसी सचिव, श्रमिक विभागलगायत संघको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको यहाँहरूलाई अवगत नै छ।

सन् २०१० देखि नै एनआरएनएको मध्यपूर्व, एसिया प्यासिफिक, युरोप, अफ्रिका, अष्ट्रेलिया र अमेरिकाज क्षेत्रसँग जोडिएर काम गरे पनि सन् २०१६ देखि हस्पिटालिटी, निर्माण तथा ट्रेडिङ्ग, रेष्टुरेण्ट एण्ड क्लब, कन्सलटेन्सी आदी व्यवसायहरु सञ्चालनका अलवा विभिन्न संघसंस्थामा वरिष्ठ सल्लाहाकार, प्रेस सल्लाहकार, सचिवालय संयोजक, मिडिया विभाग संयोजक, कानुनी तथा नीति विभाग संयोजक, विधान मस्यौदा समिति संयोजक, पदाधिकारीलगायत विभिन्न जिम्मेवारी बहन गर्दै व्यवसायबाट प्राप्त मुनाफाको केही अंशलाई मानवीय कार्यमा समर्पण गर्नुपर्दछ भन्ने मुख्य अभिप्रायका साथ सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाई जानकार नै हुनुहुन्छ।

कोरोना कहरको विषम परिस्थितिमा गैरआवासीय नेपाली संघ मध्यपूर्वको मिडिया विभागको नेतृत्व सहाल्दै यस क्षेत्रमा नेपाली समुदायलाई कत्ति पनि विचल्ली हुन नदिन सत्य तथ्य सूचना प्रवाह गरी सुसूचित, उद्दार र राहतमा प्रत्यक्ष सहभागी भएको र भयावह कहरमा समेत आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी गैरआवासीय नेपाली संघ, कुटनीतिक नियोग, कतार सरकार र नेपाली समुदायले सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई कुशल कार्तयकौसलता र तथ्यपरक ढंगबाट तोकिएको समय सिमाभित्रै संपन्न गरी सुम्पिएका अनुभवहरुले अनन्त ऊर्जा मिल्ने गरेको छ।

अग्रजहरुको अनुभव र आर्जनलाई सम्मान गर्दै विचार र ज्ञानको ठुलो भण्डार रहेको गैरआवासीय नेपाली संघको उद्देश्य र एनआरएन अभियानबाट अहिलेसम्म प्राप्त उपलब्धिलाई हृदयंगम गर्दै यसको मर्म, भावना र उद्देश्य अनुरुप संस्थालाई अघि बढाउन हरदम लागिरहने अठोटका साथ यो उम्मेदवारी प्रस्तुत गरेको छु।

सामाजिक कार्यप्रति उत्प्रेरित भई समाजप्रतिको मेरो उत्साह, लगनशीलता एवम् क्रियाशीलतालाई यहाँहरूले दिनुभएको साथ, शुभेच्छा, प्रेरणा, हौसला, समर्थन र सल्लाह बमोजिम संघको केन्द्रीय कार्यकारी भूमिकामा रहि मध्यपूर्वमा रहेका नेपालीहरूलाई यसको पवित्र अभिष्टलाई मूर्तरुप दिन, नेपाली पहिचान, कला, संस्कृति, व्यक्तित्व, आर्थिक आदि अवस्थाहरूलाई समृद्ध बनाउन र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धतासहित संघलाई श्रमिकमैत्री, भ्रष्टाचार मुक्त र संघको छवि उच्च राख्ने मुख्य अभिप्रायका साथ मैले २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छु।

यहाँहरूको माया, साथ, समर्थन, उत्प्रेरणा र हौसलाको सधैं ऋणी रहनेछु र घोडा चड्ने मान्छे लड्छ भनेझै मबाट हुने मानवीय एवम् प्राविधिक त्रृटीहरू रहेमा क्षेमायाचनासहित यहाँहरूको सत्मार्गदर्शनको अपेक्षासहित यहाँहरूले आसन्न निर्वाचनमा मलाई अत्यधिक मतले विजयी गराइदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरुज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु।

दिपजङ्ग शाह ठकुरी
उम्मेदवार : आइसीसी सदस्य (२०२३–२०२५)
गैरआवासीय नेपाली संघ, कतार

उम्मेदवारहरुकाे अन्तिम नामावली :

प्रकाशित मिति: : 2023-07-26 17:57:00

प्रतिकृया दिनुहोस्