मुखमा एउटा र मनमा अर्को कुरा नगर्ने हो कि ?

भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले भारतीय समाजको बारेमा भनेका थिए, ‘जब पैसा बोल्न सुरु गर्छ, त्यसपछि सबै चुप लाग्छन्’, अर्थात् समाजमा धनीले जे गरे पनि गरीबले सहन्छन् वा धनीसँग असहमति प्रकट गर्न सक्दैनन्। ४० को दशकको भारतीय समाजको बारेमा उल्लेख भएको यो प्रसंग अहिले पनि मिल्दोजुल्दो छ र सायद पहिलेको भन्दा पनि बढी।

बलेको आगो ताप्ने र मौसमअनुसारको ट्युनिक लगाउने हाम्रो समाज पनि डा. प्रसादले उल्लेख गरेको जस्तै छ। हाम्रो समाजमा मान्छेको मूल्यांकन सबैभन्दा पहिले रुप र धनबाट हुन्छ। दुवै पक्ष ठिक छ भने त सुनमा सुगन्ध भयो, तर धेरैजसो अवस्थामा रुपलाई पनि धनले नै जितेको हुन्छ।

मेरो एक छिमेकी संयुक्त परिवारमा बस्छन्। बाबुआमा, तीन विवाहित छोराबुहारी र उनीहरुका बच्चाहरु तथा एक अविवाहित छोरासहित १३ सदस्यीय परिवारमा सबै एकै प्रकारको आर्थिक अवस्था भएको हुने कुरा भएन। करेसो जोडिएको घर भएको कारण नचाहेरै पनि धेरै कुरा देखिन्थ्यो र बुझिन्थ्यो। कमाइ राम्रो हुनेको चुरिफुरी हुने नै भयो र उनीहरुको अगाडि सबै नतमस्तक हुने नै भए। जसको कमाइ राम्रो थिएन उसले घरको सबै काम गरेर पनि चौबिसै घण्टा गाली खानुपर्थ्यो।

लगभग उस्तै उमेरका भए पनि अरुले धनीको बच्चालाई गर्ने व्यवहार र गरीबको बच्चालाई गर्ने व्यवहारमा आकाश-पातालको फरक थियो। धनीको बच्चा रोए भने उसलाई फकाउन कोही गीत गाउने त कोही नाच्ने गर्थे तर गरीबको बच्चा रोए भने ‘हरे! यो कति रुन्छ’ भनेर मुख बिगारेर झनै तर्साउँथे। यस्ता व्यवहार त मैले बाहिरबाट मात्र देखेर अनुमान लगाएको हो, घरभित्र कस्तो व्यवहार हुन्थ्यो होला त्यो म अनुमान लगाउन सक्दिनँ।

उसैपनि कुनै घरमा दुई वा दुईभन्दा बढी बुहारीहरु छन् भने जो सबैभन्दा गरीब छ वा जसको माइती कमजोर छ, उसलाई त्यसै पनि हेप्ने गरिन्छ। मेरो एक आफन्तको घरमा एक बुहारी विधवा छिन्। आर्थिक रुपमा असक्षम र खासै नपढेकी उनको अवस्था मध्ययुगिन दासको जस्तै छ। घरको हरेक काम गरेर पनि पेटभरि खान नपाउनु उनको नियति छ। त्यसमा पनि कोही घर बाहिर जान लाग्यो भने उनले बाहिर देखिनु हुँदैन, कतै गएर लुक्नुपर्छ, यदि त्यस्तो समयमा बाहिर निस्कन लागेको मान्छेले उनलाई देख्यो भने साइत बिग्रिन्छ भन्छन्। उनका घरका सदस्यहरु, मैले आजसम्म कसरी साइत बन्छ वा बिग्रिन्छ त्यो बुझ्न सकेको छैन। सायद अल्पज्ञानको कारणले हुनुपर्छ।

एकदिन म त्यो घरमा काम विशेषले बिहानको करिब ७ बजे नै गएको थिएँ। म पुग्दा नै उनलाई सबैले तथानाम गाली गरिरहेका थिए। करिब आधा घण्टा म त्यो घरमा बस्दा उनीमाथि धाराप्रवाह गालीको वर्षा भइरह्यो। कुरा बुझ्दा के थाहा भयो भने त्यो घरको एउटा सदस्यले उठ्नेबितिकै पहिले उनको अनुहार देखेको रहेछ। उसको भनाइमा ‘बिहान विधवाको अनुहार देख्यो भने दिनभरि नराम्रो समाचार मात्र सुन्नुपर्छ’, तर मेरो विचारमा गाली गर्नेको भन्दा गाली खानेको साइत बिग्रेको हुनुपर्छ। किनकी उसको अनुहार देख्नेबितिकै बिना कुनै अपराध अपशब्द सुन्नुपर्यो।

त्यस्तै बोल्ने बेलामा दायाँबायाँ नसोचेर बोल्ने अनि पछि रिस उठेको बेलामा के के बोलियो वा रक्तचाप बढेर रिस थाम्न सकिएन भनेर भन्ने गरिन्छ। यो रिस भन्ने जिनिस पनि बढो अच्चमको छ, आफूभन्दा कमजोरको अगाडि मात्र उठ्छ, शक्तिशालीको अगाडि बसेको बस्यै गर्छ। पियनको रक्तचाप बढेर हाकिमलाई थप्पड हानेको कुरा मैले आजसम्म सुनेको छैन तर हाकिमको रक्तचाप बढेर पियनमाथि कुटपिट र अभद्र व्यवहार भएको समय-समयमा सुनिन्छ। यसको मतलब यो रक्तचाप बढ्ने कुरा शत प्रतिशत वाहियात हो, रक्तचाप बढेको निहुँमा आफूभन्दा कमजोरमाथि थिचोमिचो गरेको हो।

आफूभन्दा कम उमेरको मान्छेलाई र विशेष गरेर घरघरमा सासूले बुहारीलाई बिनाकाम थिचो मिचो गर्ने गरेको पाइन्छ। कुनै कारणले सहनशक्तिले नभ्याएर सानो मान्छेले प्रतिकार गर्यो भने सबै एक मुख लगाएर बुढाबुढी मान्छे कचकच गर्छन्, हामीले सहनुपर्छ भनेर निशुल्क ज्ञान दिन्छन्। मैले नबुझेको कुरा, कुन उमेर पार गरेपछि अर्को मान्छेको भावनामा ठेस पुर्याउन पाइन्छ वा अरुको चित्त दुखाउने ‘लाइसेन्स’ प्राप्त हुन्छ? मेरो व्यक्तिगत अनुभवमा पनि चित्त नबुझेको कुरामा असहमति जनाउने स्वभाव भएको कारण धेरैले मलाई रुचाउँदैनन्। आफ्नो ह्रदय ले ठिक मानेको कुरा गर्दा अरु कसैको ‘क्यारेक्टर सर्टिफिकेट’ को जरुरत पर्दो पनि रहेनछ।

यसको विपरीत हाम्रो समाज दुई वटा कुरामा भने निकै उदार छ। पहिलो- अमेरिकासँग सम्बन्धित व्यक्ति र उनीहरुको गतिविधि र दोश्रो- पुरुषले लगाउनेकोट पाइन्ट (सुट)। अमेरिकामा बस्ने व्यक्तिलाई गर्ने व्यवहार र उसको कुरालाई दिएको इज्जत हेर्दा उनीहरु कुनै अर्कै ग्रहबाट आएको प्राणी जस्तो लाग्छ। नेपालमा अर्काको छोरीबुहारीलाई सानोसानो कुरामा चरित्रहत्या गर्नेहरुले पनि अमेरिकामा जतिसुकै गति छाडेर हिँडेको कुरालाई पनि सजिलै पचाउँछन्।

नेपालमा गर्ने नहुने भनेको कुरा पनि अमेरिकामा गर्दा भने यता चल्छ भनेर स्वीकार गर्छन्, यस्तो उदारता किन? अमेरिकी डलर एकको एक सयभन्दा बढी हुने भएर त होला। त्यस्तै तपाईंले जतिसुकै पुरानो डिजाइनको सुट लगाउनुस्, कसैले खिसीटिउरी गर्दैन। यद्यपि, सुटको पनि आफ्नै नियम छ। राति लगाउने र दिउँसो लगाउने, जाडोमा लगाउने र गर्मीमा लगाउने फरकफरक किसिमका सुट हुन्छन् भन्ने कुरा जानकारहरुले पंक्तिकारलाई बताएका छन्। अरु कुरा भयो भने तिललाई पहाड बनाउने हाम्रो समाज सुटको लागि भने किन यति उदार छ, त्यो मैले बुझ्न सकेको छैन। सायद त्यो किसिमको लुगा बनाउन अरु किसिमको लुगा बनाउनुभन्दा आर्थिक रुपले महँगो परेर हो कि?

कुल मिलाएर नेपाली समाज धनको पछाडि दौडिने छ र त्यही समाजमा जन्मेहुर्केको कारण पंक्तिकार पनि कुनै अपवाद होइन। हामी मुखले ‘पैसा भनेको त के हो र आउँछ/जान्छ तर सम्बन्ध ठुलो कुरा हो’ भनेर भन्छौँ तर पैसाको कारणले रगतको सम्बन्ध पनि चकनाचुर भएको देखिएको छ। त्यसैले आफ्नो जीवनमा जे महत्वपूर्ण हुन्छ, त्यही कुरा मन खोलेर भन्ने साहस गर्नुपर्छ। बाहिर एउटा र भित्र अर्को कुरा गर्नु शतप्रतिशत पाखण्डमात्र हो।

@twitter#naviinr

प्रकाशित मिति: : 2023-07-29 22:33:00

प्रतिकृया दिनुहोस्