सराेकारवालाले बेवास्ता गरे प्रसारण लाइनको काम ठप्प पार्ने अरुण तेस्रो संघर्ष समितिकाे चेतावनी

अरूण तेस्रो जलविद्युत् आयोजनाकाे प्रसारण लाइन गाउँबस्ती बाहिर सुरक्षित क्षेत्रबाट लैजान अरूण तेस्रो प्रभावित संघर्ष समितिले माग गरेकाे छ।

हाल निमार्णाधीन अवस्थामा रहेको अरूण तेस्रोले भोजपुरको टेम्केमैयुङ गाउँपालिका क्षेत्र हुँदै जाने प्रसारण लाइनबारे प्रभावित क्षेत्रबासीमा अनेक आशंका उब्जिएकाे भन्दै संघर्ष समितिले सुरक्षित क्षेत्रबाट लैजान माग गरेका हाे।

टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ र ४ नागी, अन्नपूर्ण हुँदै भारतीय कम्पनी सतलजले अरूण तेस्रो ४०० केभी प्रसारण लाइन निर्माण तयारीमा छ। तर उक्त प्रसारण लाइन निर्माणकर्ता कम्पनीसँग यसबारे विभिन्न चरणको छलफल हुँदा पनि सकारात्मक नभएको समितिकाे गुनासाे छ।

निर्माण कम्पनी, स्थानीय सरकार र प्रशासनसँग छलफल भइरहे पनि स्थानीयका माग पूरा नगरी अघि बढ्दै एकपक्षीय रूपमा काम गर्न ख‍ोजेको समितिले जनाएको छ।

समितिका संयोजक पावीहाङ राईका अनुसार स्थानीय जनता प्रभावित भएको र व्यापक असन्तुष्टिबारे नेपालको लगानी बोर्डलाई समेत अवगत गराइएकोमा बेवास्ता गरिएको बताएका छन्।

‘यसमा निर्माण कम्पनी सतलज र नेपालको लगानी बोर्ड पनि गम्भीर हुनुपर्ने हो’, उनले भने। तर अरूण चौथौको समेत बिजुली यही प्रसारण लाइनबाट लाने गरी प्रक्रिया अघि बढिरहँदा स्थानीयको असन्तुष्टिलाई सम्बोधन नगरी केही सोझासिधा जनतालाई रकमको प्रलोभन दिएको पाएका उनले बताए। यस्तो अवस्थामा कसैले पनि कुनै प्रलोभनमा नपर्न समेत समितिले अनुरोध गरेकाे छ।

संघर्ष समितिका मागहरू पूरा नभएसम्म प्रसारण लाइन प्रभावित क्षेत्रका कोही स्थानीयले कम्पनीका कुनै पनि प्रस्ताव नस्वीकार्न समेत आग्रह गर्नुको साथै स्थानीयबासीलाई संघर्षमा उत्रिनु समेत आह्वान गरिएको छ।

स्थानीयले उठाउँदै आएका असन्तुष्टि र मागहरूबारे यसअघि नै सरकारलाई जानकारी गराइसकेको अवस्थामा एकपक्षीय रूपमा गर्न लागिएको कुनै पनि कुरा स्वीकार्य नहुने समितिको भनाई छ।

संघर्ष समितिले ध्यानाकर्षण गराउँदा गराउँदै यदि काम अघि बढाइएमा भोलिका दिनमा त्यसबाट निम्तन सक्ने दुष्परिणामको जिम्मेवार सम्बन्धित प्रसारण लाइन निर्माता कम्पनी नै हुने चेतावनी दिएको छ।

यस्ताे छ अरूण तेस्रो प्रभावित संघर्ष समितिको मागहरू:

१) प्रसारण लाइन गाउँबस्ती बाहिर सुरक्षित क्षेत्रबाट लैजानुपर्छ।
२) हामीले दिएको जग्गाभारतीय कम्पनीको नाममा होइन, नेपाल सरकारको कुनै तीन तहमध्ये एकमा पास हुनुपर्छ।
३) प्रसारण लाइन लैजाँदा पोल राख्ने जमिन र तारमुनिको जमिनको उत्पादन परियोजना समयभरको मूल्यांकन गरी पूर्ण क्षतिपूर्ति दिनुपर्छ। 
४) यी मागहरू पूरा नगरी परियोजना अघि बढाए त्यसबाट निम्तिने परिणामको कम्पनी आफैँ जिम्मेवार हुनेछ।
५) प्रसारण लाइन क्षेत्रका प्रभावित बासिन्दा, राजनीति दल, नागरिक समाज र सम्पूर्ण भोजपबासीले यस विषयलाई गम्भीररूपमा लिएर हाम्रो आन्दोलनमा समर्थन जनाइदिनु हुन पनि अपील गर्दछौं।

प्रकाशित मिति: : 2023-07-29 17:20:00

प्रतिकृया दिनुहोस्