लम्पी स्किन रोगको संक्रमण फैलिँदै गएपछि गोरखा नगरपालिकाभित्रका ३०० गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।
गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिका भित्रका २ वटा वडाका गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको पशुसेवा विज्ञ केन्द्र गोरखाका सूचना अधिकारी डा. लालमणि अर्यालले जानकारी दिए।
रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभैंसीमा खोप अभियान सञ्चालन गरिएको उनले बताए। ‘अहिलेसम्म ३०० गाईभैंसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको छ,’ उनले भने, ‘गोरखा जिल्लामा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो।’
खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा. अर्यालले बताए। लम्पी स्किन रोग लागेपछि पशुवस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए पशुको मृत्यु समेत हुने डा. अर्यालको जानकारी दिए।
‘पशुमा यो रोगको लक्षण देखिने बित्तिकै पशु चिकित्कसँग परामर्श गरी उपचार गर्नुपर्छ,’ उनले भने, ‘एक पशुवस्तुबाट अर्को पशुवस्तुमा सर्न नदिन रोग लागेको पशुवस्तुलाई निरोगी पशुवस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ।’
गोरखा जिल्लाभित्र ५ भन्दा बढी स्थानीय तहहरूमा लम्पी स्किन रोगको संक्रमण फैलिइसकेको छ।