क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध अदालतमा मुद्दा हालेका छन्। अमेरिकी संविधानको दशौं संशोधन अनुसार राज्य सरकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप अतिक्रमण गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्।
क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए।
पहिला नै क्यालिफोर्नियाका गर्भनरले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न भनेका थिए। ट्रम्पले त्यहाँ सैनिक परिचालन गरेर राजनीतिक खेल खेल्न थालेको र उनको जालमा नफस्न उनले प्रदर्शनकारीहरूलाई सचेत पारेका थिए। राज्य सरकारको विरोधका वाफजुद पनि ट्रम्पले हिंसा कुनै हालतमा सैह्य नहुने भन्दै सैनिकहरू तैनाथ गरेपछि अब आप्रवासीहरूको त्यो आन्दोलनले राजनीतिक रुप लिएको छ।
क्यालीफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले पनि ट्रम्पले संविधानको उल्लंघन गर्दै राज्यको अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन्। तर ट्रम्प भने सैनिक परिचालनको आफ्नो आदेशबाट खुसी भएका छन्। र त्यहाँको स्थिति नियन्त्रणमा लिएको भन्दै उनले ती सैनिकहरूलाई धन्यवाद पनि दिएका छन्।
यद्यपि लस एन्जलसमा प्रदर्शन भने साम्य भएको छैन। चौथो दिन पनि प्रदर्शनकारीहरूले ब्यापक तोडफोड र आगजनी गरेका छन्। भने स्थानीय प्रशासनले सयौं आप्रवासीहरूलाई गिरफ्तार गरेको छ।
त्यो आन्दोलन सान फ्रान्सिस्कोमा पनि चर्किन थालेको छ।
यसअघि लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिएका थिए।
त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए।