क्रिकेट मैदानबाट बिदा लिएका ज्ञानेन्द्रको नयाँ उडान के होला ?

आफ्नो टोलीका कप्तान पारस खड्काले खेल जीवनबाट अलग्गिएको घोषणा गर्दैगर्दा ज्ञानेन्द्र मल्ल त्यही टिमको उपकप्तान थिए। त्यसको दुई वर्षपछि मल्लले पनि खड्काकै पाइला पछ्याए। संयोग कस्तो थियो भने शुक्रबार मल्लले क्रिकेट खेलबाट ‘सन्यास’ लिएको घोषणा गर्दैगर्दा पारस भने उनीसँग बिताएका मिठा ‘पारि’हरूको याद गरेर पत्रकारहरूसँग गफिइरहेका थिए।

‘उहाँले जुन समय, जुन समयकालमा नेपाल क्रिकेटलाई समिर्पित गर्नुभएको छ। त्यो शब्दमा बयान हुन सक्दैँन' पारसले भनिरहेका थिए ‘एउटा टिममेटमा हुनपर्ने सबै गुण उहाँमा थियो, जहिले पनि टिमलाई प्राथमिकतामा राखेर उहाँले खेल्नुभयो टिमलाई प्राथमिकतमा राखिरहँदा उनले धेरै व्यक्तिगत कुराहरु गुमाउन भएको थियो।’

मल्लले सन्यास घोषणा गर्दैगर्दा नेपालका ओपनर कुशल भुर्तेलको पनि थिए।

एउटा भावुक वक्तव्य पढ्दै शुक्रबारदेखि मल्लले खेल जीवनबाट सदाका लागि बाहिरिने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय खेलहरूबाट सन्यास घोषणा गरेका उनले अब राष्ट्रिय खेलहरूमा पनि नदेखिने बताएका छन्। ‘खेलाडीको रूपमा होइन, सायद अब अरू कुनै रूपमा मलाई देख्नसक्नुहुन्छ’, उनले भने, ‘क्रिकेट छोड्न त सक्दिनँ तर प्रतियोगिताहरू भने खेल्नेछैन।’

बल, ब्याट र आफ्ना सबैभन्दा प्रिय खेलाडी सहयात्रीहरूसँग उनले मैदानमा १८ वर्ष बिताएका छन्।

‘यही नै सही समय’ भएको भन्दै अब उनी मैदानबाट सदाका लागि बिदा भए।

उमेर समूहका यु- १५, यु- १७ र यु- १९ बाट राष्ट्रलाई प्रतिनिधित्व गर्दै आएका हुन्, मल्लले। जबकी उनले समूहगत प्रतियोगिता खेलेसँगै त्यही वर्ष राष्ट्रिय टोलीमा पनि डेब्यू पनि गरेका थिए।

आफैंले खुर्केका काठलाई ब्याट्स अनि पत्रिका भिजाएर डल्ला पारिएका ‘बल’हरूबाट क्रिकेट खेल्न सुरु गरेका उनले सुरुवाती क्रिकेटको त्यो स्नेह पनि स्मरण गरे।

उनले उमेर समूहदेखि नै राष्ट्रिय टोलीमा रहँदै आए। २००६ मा समूहगत चरणको खेल खेल्दा-खेल्दै राष्ट्रिय टोलीमा उनले डेब्यू पनि गरेका थिए।

यसअघि नै सन्यास घोषणा गरिसकेका पारस खड्का राष्ट्रिय टोलीको कप्तान हुँदा मल्ल १० वर्षसम्म राष्ट्रिय टोलीको उपकप्तान रहे।

त्यसपछि उनी आफैं कप्तान पनि भए। तर, २०२१ मा क्यानले उनलाई हटाएर सन्दीप लामिछानेलाई टिमको क्याप्टेन बनायो। तैपनि उनी टिमबाट बाहिरिएनन्। सन्दीपको कप्तानीमा मल्लले टि- २० विश्वकप लिग टु खेलेका थिए।

त्यसलाई उनले खेल जीवनमा आउनसक्ने एउटा ‘ट्रान्जिट’ भनेका छन्।

‘कप्तान र उपकप्तान दुवैको भूमिकमा रहेर देशको झन्डा काँधमा बोकेर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ’, उनले भने, ‘राष्ट्रले दिएको दायित्वलाई निभाउँदै मैदानमा उत्रिँदा शतप्रतिशत दिने प्रयास गरेको थिएँ’ उनले भनेका छन्।

पत्रकारहरूले उनलाई सन्यास लिनुको कारण पनि सोधेका थिए।

अनि जवाफमा उनले भने, ‘कारणभन्दा पनि सन्यास लिने सही समय यही नै हो जस्तो लाग्यो। धेरै वर्ष क्रिकेट खेलें। आफ्नो परिवार र राष्ट्रको लागि’, उनले भने, ‘चेन्ज हुनुपर्छ, एकदिन त छोड्नैपर्छ। प्रकृतीको नियम नै यही हो, त्यही नै हो। खासै केही कारण छैन मनदेखि नै यही समय हो जस्तो लाग्यो।’

खेलाडी वर्गीकरण र खेलाडीको सुविधाको बारेमा बोल्दै गर्दा उनीसहित केही खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको थियो। सोही कारबाहीमा परेपछि उनी कप्तानको पद गुमेको थियो।

सन् २००६ मा नामिबियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले सन २०२३ मा आयरल्यान्डसँग आफ्नो अन्तिम खेल खेले।

‘१८ वर्ष राष्ट्रको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाएँ, दुई दशक देशको लागि प्रतिनिधित्व गरें’, उनले भने, ‘अहिले सन्यास लिदाँ म धेरै सन्तुष्ट छु।’

मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सफल उपकप्तानका रुपमा पनि चिनिन्छन्।

एसीसी इमर्जिङ खेलेर श्रींलकाबाट आएको भोलिपल्टै उनले खेल जीवनबाट सन्यास लिने घोषण गरेका छन्। ‘लामो समय राष्ट्रको जर्सी लगाएर देशलाई प्रतिनिधित्व गरें, सन्यास लिने यसअघि नै सोचहरू आएका थिए’, उनले भने, ‘अहिले चाहिँ सन्यास लिने समय यही हो जस्तो लाग्यो।’

उनले सन्यास लिनुअघि क्यान, कप्तान र प्रशिक्षकलाई सन्यासबारे बताएपछि आधिकारी घोषणा गर्न निर्णय लिएका थिए। ‘सन्यासको बारेमा अघिदेखि नै प्रशिक्षकलाई बताउँदै आएको थिएँ, धेरै अगाडिदेखि नै सन्यासबारे हाम्रो छलफल भइरहेको थियो’, उनले भने, ‘प्रशिक्षकबाहेक मैले क्रिकेट संघ र कप्तानलाई आफ्नो सन्यासबारे बताएको थिए।’

लिग टु खेलेपछि उनी मैदानमा धेरै देखिएनन्। बेन्चमै बसे। धैरे पटक प्लेइङ- ११ मा नपरेको कारण उनले सन्यास लिएको धेरैले शंका गरेका थिए तर उनले त्यो कारण अस्विकार गरेका छन्। ‘त्यसमा नपरेका कारण मैले सन्यान लिएको होइन। त्योभन्दा अघि देखि नै सबैसँग छलफल गरिरहेको थिएँ’, मल्ल भन्छन्, ‘अहिलेको टिम एकदमै राम्रो छ, टिमलाई मैले कति योगदान दिए भन्ने हो। तर, अहिले योगदान पनि धेरै दिइराख्नुपर्छ जस्तो लागेको छ। खेलाडीको रूपमा नहुँला तर अरू रूपमा मलाई देख्न सक्नुहुन्छ।’

उनले यसलाई बिदाइ नभनेर अर्को अध्यायको सुरुवातका रुपमा लिन पनि आग्रह गरे। ‘यो बिदाइ होइन, यो मेरो यात्राको नयाँ अध्याय हो एउटा यात्रा जहाँ म खेलकुदको कट्टर समर्थक, यसको विकासको साक्षी र मलाई माया गर्ने देशको झण्डा गर्वका साथ सधैं उच्च रहेको हेरेर बस्नेछु’ उनले भनेका छन्।

नेपालका लागि उनले ३७ एकदिवसीय र ४५ टि- २० खेल खेलेका छन्।

ज्ञानेन्द्र मल्लले आफ्नो ओडिआई करिआरमा ८६३ रनको योगदान दिएका थिए छन्। ४५ टि- २० मा उनले एक शतक र दुई अर्धशतक प्रहार गरी ८८३ रन जोडेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने नेपालको पहिलो म्याट्स म्यानसमेत हुन्।

यस्तो छ, यस्तो उनको भावुक वक्तव्य ः

प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट, पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ।

१८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ। राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ सत प्रतिशत दिने प्रयास गरेँ यो अवसरहरूका लागि म धेरै कृतज्ञ छु, आएका कठिन परिस्थितिहरुलाई पनि सिकाईका रुपमा लिएँ। समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु।

सानो हुँदादेखि नै मलाई यो खेल खेल्नका लागि प्रेरित गर्ने मेरो टोल भिमसेनस्थानका रसेल दाइ, साथीभाइ, मेरो क्रिकेटलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गरेको यङ्गाल क्रिकेट क्लब, टिममेट, विनोद राजभण्डारी लगायतका दाइहरूलाई सम्झन चाहन्छु। अनि मेरो परिवार, विशेषगरी मेरो श्रीमती, जसले मेरो हेरक सुखदुःखमा साथ दिइन्, छोरी मेरो खुशी जो क्रीकेट र क्रीकेट बाहिरको खुशी भइ आइन्, र सम्पूर्ण आफन्तलाई पनि सम्झना चाहन्छु।

मेरो क्रिकेट करियरलाई आकार दिन भूमिका खेल्नु हुने प्रशिक्षकहरु, क्यान अफिसियलहरू अनि, क्रिकेट समर्थकहरुप्रति पनि आभारी छु। मैले मैदानमा ब्याट उचाल्दै गर्दा प्याराफिटमा रहेर हौसला र उर्जाले प्राण भरिदिने, अनि जीतमा खुसीका आँसु तथा हारमा अर्को पटक जीतका लागि उत्प्रेरणा दिइरहने दर्शक तथा समर्थकहरुको माया मेरो जीवनभरको जीउने आधार भइरहनेछ।

यो पवित्र खेल क्रिकेट मेरो अस्तित्वको सार हो स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा यसले मलाई जीवन, दृढ़ संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको छ। मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा गर्व महसुस गरेँ, गर्छु।

तर प्रकृतिको नियम हो, जन्मपछि मृत्यु अवश्यमभावी छ क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिएँ होला, यो मेरो समय हो। त्यसैले मैले आज मेरो अन्तर्रास्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको छु। 

ईमान्दारिताका साथ भन्नुपर्दा यति बेला मेरो मनमुटु भारी गह्रुङ्गो भइरहेको छ, जुन खेलले मलाई यहाँहरु सबै माझ चिनाउन सफल भयो, मानप्रतिष्ठा दियो, सोही खेलबाट विदा लिन पक्कै सजिलो छैन।

तर यो विदाई होइन, यो मेरो यात्राको नयाँ अध्याय हो एउटा यात्रा जहाँ म खेलकुदको कट्टर समर्थक, यसको विकासको साक्षी र मलाई माया गर्ने देशको झण्डा गर्वका साथ सधै उच्च रहेको हेरेर बस्ने छु

अन्त्यमा, आदरणीय समर्थकहरू, तपाईंहरु मेरो हृदयमा सधै रहनु भयो, मैदानमा तपाईंको अटल समर्थनले मलाई स्थिर राख्यो। आशा छ, भोलिका दिनमा पनि त्यसरी नै पाउने छु।

धन्यवाद 
ज्ञानेन्द्र मल्ल

भिडियाे :

प्रकाशित मिति: : 2023-08-04 21:30:00

प्रतिकृया दिनुहोस्