एनआरएनएको उपमहासचिवमा प्रविण गुरुङको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव प्रविण गुरुङले संघको उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। कतारमा विभिन्न व्यवसायहरू चलाउँदै आएका गुरुङले मलेसियामा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व, एकता र विकास आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डा हुने बताएका छन्।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गुरूङले नेपालको भू-कम्प, हावाहुरी, बाढीपहिरो, कोभिड– १९ लगायत विपत्तीका बेलामा आफैं सहभागी भएर उद्धार र राहत संकलन तथा वितरणको नेतृत्व गरेका थिए।

हाल कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसायमा हात हालेका उनी मध्यपूर्वकै एक सफल युवा व्यवसायी मानिन्छन्।

गुरुङले एनआरएनएले सुरूवात गरेको गोरखाको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारबिहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफैं उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरूको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा पनि उनको अग्रसरता थियो।

१९९७ मा भारतीय सेनामा भर्ती भएका उनी झन्डै आठ वर्ष काम गरेपछि जागिर छोडेका थिए। त्यसपछि कतारमा गएर व्यवसाय थालेका उनले गैरआवासीय नेपाली संघमा आवद्ध भएर सामाजिक काममा हात बढाएका हुन्।

नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्द्धन गर्ने उद्देश्यले कतारको दोहामा रहेको पाँचतारे होटलमा उनले नेपाली लोक दोहोरी, गजलसहितको अन्तरार्ष्ट्रियस्तरको रेष्टुरेन्ट सञ्चालन गरेका छन्। उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरू समेत  विस्तार गरिसकेका छन्। यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट नेपालमा हाईड्रोलगायत विभिन्न व्यवसायमा पनि उनी सहभागी छन्।

२०१५-१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७-१९ मा मध्यपूर्व उपसंयोजक २०१९-२०२१ मा मध्यपूर्व संयोजक र २०२१-२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएमा उदयीमान युवा नेता पनि हुन्।

एनआरएनए अभियानमा गुरुङ मात्रै त्यस्ता ब्यक्ति हुन जो सचिवसम्म आउँदासम्म सधैं निर्विरोध निर्वाचित भएका छन्। आगामी अधिवेसनमा उपमहासचिव पदका उम्मेदवार गुरुङ यसपटक पनि आफू निर्विरोध हुने सम्भावना रहेको बताउँछन्। उनले आफू खुल्ला हृदयबाट सामाजिक काम गर्न आएकाले एनआरएनए अभियन्ताहरूले आफूमाथि विश्वाश गरेको र आगामी दिनमा पनि त्यो विश्वाश टुट्न नदिने बताएका छन्।

गैरआवासीय नेपालीहरूको हक/हितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि अभिभावक बनेको बताए।

गुरुङले आफूले सबै एनआरएनए अभियन्ताहरूको सल्लाह सुझावलाई स्विकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएको भन्दै आफूलाई साथ र सहयोग गर्न विश्वभरका गैरआवासीय नेपालीलाई आग्रह पनि गरेका छन्।

‘लामो समय एनआरएनएमा जोडिएर विश्वभरि रहेका नेपाली र मातृभूमि नेपालका लागि मैले आजसम्म गरेका काम र अनुभवलाई सहि सदुपयोग गर्नुपर्ने आवश्यकता त्यही अभियानलाई निरन्तरता दिने दृढ संकल्प गरेको छु’ उनले भनेका छन् ‘त्यसका लागि फेरि पनि यहाँहरूको साथ, सहयोग र सद्भाव पाएमा आफूले सङ्गालेको अनुभवलाई कुनैपनि कसर बाँकी नराखी निस्वार्थ सेवाभावका साथ कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उक्त प्रतिद्धतालाई कार्यान्वयन गर्नका लागि अवसर दिनुहुन हृदयदेखि हार्दिक अपिल गर्दछु।’

प्रकाशित मिति: : 2023-08-07 13:34:00

प्रतिकृया दिनुहोस्