ललिता निवास जग्गा प्रकरणमा मेराे नाम जाेडेर गलत र बेइमानीपूर्ण प्रचारवाजी गरियाे: दीनानाथ शर्मा

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नाे नाम जाेडेर गलत प्रचार गरेकाे भन्दै आपत्ति जनाएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिव शर्माले तत्कालीन शिक्षामन्त्रीका हैसियतले तत्कालीन मन्त्रिपरिषद्को सामाजिक समितिमा आफ्नाे उपस्थितिको विषयलाई समेत ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएजसरी प्रचार भएकाे भन्दै आफूलाई मर्माहत बनाएको बताएका हुन्।

‘केही समयदेखि सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमबाट असम्बन्धित व्यक्तित्व र राजनीतिक दलका नेताहरुका विरुद्धसमेत सबै उस्तै हुन् भन्ने प्रकारले दुष्प्रचारसमेत हुँदै आएको छ’, उनले भनेका छन्, ‘पछिल्लो समय बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणका सन्दर्भमा तत्कालीन शिक्षामन्त्रीका हैसियतले तत्कालीन मन्त्रिपरिषद्को सामाजिक समितिमा मेरो उपस्थितिको विषयलाई समेत ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएजसरी प्रचार भएबाट मलाई मर्माहत बनाएको छ।’

शर्माले आफू मन्त्री र शिक्षा मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ उपस्थित भई आफ्नाे सरोकारको विषय मन्त्रिपरिषद्बाट तत्काल पारित गर्नु आवश्यकताका बारेमा औंल्याएकाे उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘२०६९ साल असोज १४ गते बिहान ९ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सामाजिक समितिको बैठकमा छलफल भएको ४ वटा विषयमध्ये चौंथो नम्बरको विषयमा मेरो विभागीय दायित्वभित्रको शिक्षा मन्त्रालयको ‘साक्षर नेपाल अभियान कार्यान्वयनका लागि तयार गरिएको अवधारणा पत्रानुसार अभियान सञ्चालन गर्ने बारे’ भन्ने रहेको थियो। समितिमा त्यस विषयमा छलफल हुने भएकोले उपस्थित हुनुभन्ने प्रधानमन्त्री कार्यालयबाट आमन्त्रण गरिएकोले त्यसका लागि म मन्त्री र शिक्षा मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ उपस्थित भई हाम्रो सरोकारको उपरोक्त विषय मन्त्रिपरिषद्बाट तत्काल पारित गर्नु आवश्यकताका बारेमा औंल्याएका थियौं।’

त्यसबाहेकका विषय आफ्नाे सरोकार र क्षेत्राधिकारका विषय नभएकाे भन्दै उनले ती विषयमा आफूहरूले कुनै टिप्पणी गर्नुपर्ने वा पैरवी गर्नुपर्ने आवश्कता नै नभएकाे दाबी गरेका छन्। बरु त्यस्तो समितिमा विभागीग मन्त्री र सचिवले सम्बन्धित विभागीय जिम्मेवारीभित्रका विषयमा मात्र आफ्नो राय वा दलील पेश गर्ने प्रचलन रही आएको उल्लेख गरेका छन्।

आफ्नाे जिम्मेवारीभन्दा बाहिर रहेको विषयमा आफूलगायत तत्कालीन शिक्षामन्त्रालयका सचिव तथा भौतिक योजना र भूमि सुधारबाहेकका मन्त्रालयका अधिकारीको उपस्थितिलाई नै निर्णयकर्ता जस्तो गरी प्रचार गर्नु सरासर गलत र बेइमानीपूर्ण प्रचारवाजी भएकाे बताए।

यस्ताे सचिव दीनानाथ शर्माले विज्ञप्तिकाे पूर्णपाठ

भ्रामक प्रचारबारे

हाल हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) अधयक्ष क. प्रचण्ड नेतृत्वको सरकाले सुशासनको प्रत्याभूति र भ्रष्ट्राचार नियन्त्रणको अभियान चलाइरहेको सर्वविदितै छ। हालै सम्पन्न हाम्रो पार्टीको चौथो केन्द्रीय समितिको बैठकले समेत सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई दृढतापूर्वक समर्थन गर्दै त्यस्ता भ्रष्टाचारजन्य र आपराधिक क्रियाकलापमा संलग्न जो कोही भएपनि निर्भिकतापूर्व कारवाही गर्न समेत माग गरेको छ।

यसै सन्दर्भको केही समयदेखि सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमबाट असम्बन्धित व्यक्तित्व र राजनीतिक दलका नेताहरुका विरुद्धसमेत सबै उस्तै हुन् भन्ने प्रकारले दुष्प्रचारसमेत हुँदै आएको छ। पछिल्लो समय बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणका सन्दर्भमा तत्कालीन शिक्षामन्त्रीका हैसियतले तत्कालीन मन्त्रिपरिषद्को सामाजिक समितिमा मेरो उपस्थितिको विषयलाई समेत ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएजसरी प्रचार भएबाट मलाई मर्माहत बनाएको छ।

२०६९ साल असोज १४ गते बिहान ९ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सामाजिक समितिको बैठकमा छलफल भएको ४ वटा विषयमध्ये चौंथो नम्बरको विषयमा मेरो विभागीय दायित्वभित्रको शिक्षा मन्त्रालयको ‘साक्षर नेपाल अभियान कार्यान्वयनका लागि तयार गरिएको अवधारणा पत्रानुसार अभियान सञ्चालन गर्ने बारे’ भन्ने रहेको थियो। समितिमा त्यस विषयमा छलफल हुने भएकोले उपस्थित हुनुभन्ने प्रधानमन्त्री कार्यालयबाट आमन्त्रण गरिएकोले त्यसका लागि म मन्त्री र शिक्षा मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ उपस्थित भई हाम्रो सरोकारको उपरोक्त विषय मन्त्रिपरिषद्बाट तत्काल पारित गर्नु आवश्यकताका बारेमा औंल्याएका थियौं।

त्यसबाहेकका विषय हाम्रो सरोकार र क्षेत्राधिकारका विषय थिएनन्। ती विषयमा हामीले कुनै टिप्पणी गर्नुपर्ने वा पैरवी गर्नुपर्ने आवश्कता नै थिएन। बरु त्यस्तो समितिमा विभागीग मन्त्री र सचिवले सम्बन्धित विभागीय जिम्मेवारीभित्रका विषयमा मात्र आफ्नो राय वा दलील पेश गर्ने प्रचलन रही आएको सर्वविदितै छ।

तसर्थ त्यसदिनको छलफलका सबै विषयको यथार्थतामा प्रवेश नगरी ‘सामाजिक समितिले सिफारिस गरे बमोजिम समरजंग कम्पनीका नामको जग्गा पशुपति टिकिन्छा गुठीमा हक हस्तान्तरण गर्ने निर्णय भएको’ मात्र भन्ने विषय उठान गरी अन्य मन्त्रालयका विभागीय मन्त्री वा अधिकारी सबैलाई एउटै घानमा हालेर पन्छिन खोज्ने र त्यही कुरालाई सञ्चारमाध्यमले उछालेर वा सामाजिक सञ्जालमा असम्बन्धित विषयका अधिकारीको उपस्थितिलाई समेत बद्मासी गरेको भन्ने रुपमा प्रचार गरिनु दुःखद छ। विभागीय मन्त्रीले सम्बन्धित विषयको मात्र जिम्मेवारी लिने हो। सामाजिक समितिका संयोजक सबै विषयमा  जवाफदेही हुने कानुनी व्यवस्था स्वतः स्पष्ट छ।

तसर्थ मेरो जिम्मेवारीभन्दा बाहिर रहेको विषयमा मलगायत तत्कालीन शिक्षामन्त्रालयका सचिव तथा भौतिक योजना र भूमि सुधार बाहेकका मन्त्रालयका अधिकारीको उपस्थितिलाई नै निर्णयकर्ता जस्तो गरी प्रचार गर्नु सरासर गलत र बेइमानीपूर्ण प्रचारवाजी हो। त्यस्ता प्रचारवाजीले म लगायतका असम्बन्धित अधिकारीको मान प्रतिष्ठामा आँच पुर्याउने हुनाले अनावश्यक प्रचारवाजी नगर्न र हाम्रो पार्टीका नेता कार्यकता, तथा शुभेच्छुक कसैलाई पनि भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु।

फेरि पनि म भन्न चाहन्छु – राज्यको सम्पत्तिको व्यक्तिको नाममा बनाएर दोहन गर्ने, राजस्वमा ब्रहमलुट मच्चाउने, तस्करीलगायतका विषयलाई संरक्षण गर्ने जस्ता क्रियाकलापका विरुद्ध क. प्रचण्ड नेतृत्वको सरकारले चालेका अभिायनलाई दृढतापूर्वक अघि बढाइ निष्कर्षमा पुर्याउनु समेत हार्दिक अनुरोध गर्दछु।

दीनानाथ शर्मा 
सचिव, नेकपा (माओवादी केन्द्र)
तत्कालीन शिक्षामन्त्री (२०६८–६९)

प्रकाशित मिति: : 2023-08-08 14:39:00

प्रतिकृया दिनुहोस्