शेर्पा नेतृत्वको एनआरएनएले मान्यता पाएसँगै यूएईमा दुईवटा एनआरएनए सक्रिय

पासाङ शेर्पाको नेतृत्वमा गठित एनआरएनए एनसीसी यूएईको समानान्तर समितिले मान्यता पाएसँगै यूएईमा औपचारिक रूपमै दुईवटा एनआरएनए सक्रिय भएको छ।

यूएईमा दर्तावाल संस्थासँग मर्ज भएको एनआरएनएको नेतृत्व विकास शाहीले गरेका छन् भने उक्त संस्थाबाट छुटिएर बनेको अर्को समितिको नेतृत्व पासाङ शेर्पाले गरेका छन्। दुईटै संस्थाको नयाँ कार्यसमिति गएको जुलाई ३० मा चयन भएको हो।

अघिल्लो एनआरएनएमा वरिष्ठ उपाध्यक्ष रहेका शेर्पाले संस्थाभित्र राजनीति र अराजकता हावी भएको भन्दै जुलाई ३० मा आफ्नो नेतृत्वमा २९ सदस्यीय समानान्तर समिति घोषणा गरेका थिए। सोही दिन सम्पन्न एनआरएनए (एनए) को ८औं अधिवेशनले विकास शाहीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरेको थियो। उक्त समितिका केही पदाधिकारीहरुको चरित्र र योग्यताका बारेमा सार्वजनिक प्रश्नहरु उठे पनि निर्वाचन समितिले नजरअन्दाज गर्दै समिति घोषणा गरेको थियो।

यता शेर्पा नेतृत्वमा गठित समानान्तर समितिले आईसीसीबाट मान्यता पाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष विनोद कुँवरले हिजो (बुधबार) शेर्पाको नाममा पत्र पठाएर समानान्तर समितिलाई मान्यता दिएका हुन्।

कुँवरले गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधनसहित) अनुसार एनसिसिको कामकारवाही अगाडि बढाउन अनुरोधसमेत गरेका छन्।

प्रकाशित मिति: : 2023-08-10 16:09:00

प्रतिकृया दिनुहोस्