सुनिल शर्माको सचिवालयले गृहमन्त्री र प्रधानमन्त्रीबाट रिसिबी साँध्ने काम भएको प्रतिक्रिया दिएको छ।
सुन तस्करीका नाइकेहरुलाई पक्राउको माग राख्दै उठाइएको आजाव दबाउने नियतले शर्मालाई पक्राउ गरिएको आरोप लगाउँदै सचिवालयले उक्त प्रतिक्रिया दिएको हो।
मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको छ। शर्माको आइएससीको प्रमाणपत्र नक्कली भएको सिआइबीले जनाएको छ।
सिआइबीले सोही आरोपमा शर्मासहित चार जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ।
शर्माको पक्राउपछि विज्ञप्ति जारी गर्दै सचिवालयले सुन तस्करीका नाइकेहरुलाई पक्राउ गर्न उठाइएको आजाव बन्द गर्न शर्मालाई पक्राउ गरेको प्रतिक्रिया दिएको छ।
‘जनताको पक्षमा आजाव उठाउँदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसिबी साँध्ने मनासायले बर्बताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वा स्वतन्त्रताको खिल्ली उठाउँदै प्रजातन्त्रको मर्मविपरीत सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरुलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमार्फत भनिएको छ।
सचिवालयले प्रजातन्त्र, सुशासन र समृद्धिको लागि उठाइएको जनताको आवाज अझै सशक्त हुने बताएको छ।
प्रतिनिधिसभा बैठकहरुमार्फत् सरकारसमक्ष सुन प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग राख्दै आवाज उठाउँदै आएका थिए।
यद्यपि, सिआइबीले भने सुन प्रकरणबारे शर्माले दिएको अभिव्यक्ति र उनलाई अहिले गरिएको पक्राउको सम्बन्ध नरहेको बताएको छ।
शर्माको शैक्षिक प्रमाणपत्रबारे लामो समयदेखि अनुसन्धान गरिएको र अहिले प्रमाण पुगेपछि प्रक्राउ गरिएको सिआइबीले जनाएको छ।