युवराज सफलले गरे कुवेतमा बेचिएकी नेपाली महिलाको उद्दार

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्दार गरिएको छ।

युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्दार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो।

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहानले आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पुर्याएका थिए। पीडित महिलाले आफूलाई ‘ब्यूटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरेकी छिन्।

“घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ”, पीडित महिलाले भनिन्, “त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।”

पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्दार गर्न भन्दै अनुरोध गरेकी थिइन्। “पीडितसँग सम्पर्कमा आएपछि उद्दारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाइ प्रक्रिया गएपछि उहाँको उद्दार भएको हो”, सफलले भने। 

सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्यूरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्दारका लागि पहल नगरेको उनको भनाइ छ। उद्दार गरिएकी महिलालाई स्वदेशी पर्कनका लागि उनकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।

प्रकाशित मिति: : 2023-08-11 19:45:00

प्रतिकृया दिनुहोस्