नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसियन (एनसिएसए)को छैठौँ साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको छ। बसुन्धारास्थित गोधुली फुडल्यान्डमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकरीले अधिवेशनको उद्घाटन गरे।
टुरिजम स्पोर्टस्मा आबद्ध रहेर काम गर्दै आइरहेकाहरुको साझा संस्था एनसिएसएको यसै अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन हुँदैछ। त्यसको लागि अधिवेशनको बन्दसत्र जारी छ।
यसअघि उद्घाटनसत्रमा बोल्दै कार्यक्रमका विशेष अतिथिसमेत रहेका मेयर अधिकारीले नेपालमा पर्यटन प्रबर्द्धनको लागि गरिने खेलमा आकर्षण बढ्दो रहेको बताए।
मेयर अधिकारीले एनसिएसएले चाहेमा क्लाइम्बिङ खेल सञ्चालको लागि जग्गा उपलब्ध गराउने वाचा गरे। ‘यदि एसोसिएसनले भूमिका दियो भने टोखामा यस खेल गराउनको लागि जग्गा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यसले टोखाको पर्यटन विकासको लागि सहयोग पुग्नेछ।’
त्यस्तै कार्यक्रमका प्रमुख अथिति नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले यस खेलले पर्यटन विकासमा ठुलो योगदान पुर्याउने बताउँदै खेल प्रबर्द्धनको लागि सहयोग गर्न तयार रहेको बताए।
उनले खेल जगतमा भएका उपीडनबारे बोल्न एनसिएसएका प्रतिनिधिहरुलाई अनुरोध गरे। ‘खेल जगतमा भएको उत्पीडनबारे तपाईंहरुले बोलेर अगाडि बढ्नु भएको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु’, रिजालले भने, ‘तपाईंहरुले आजाव उठाउँदा राज्यले निषतेज गर्न सक्छ, त्यसैले तपाईंहरु एकजुट भएर अगाडि बढ्नुहोस्, म साथमा छु।’
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य सम्राट कुसारीले राखेप एनसीएसएको अभिभावकत्व गर्न तयार रहेको बताए।
कुसारीले खेलकुद क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी गर्ने ऐन बनाउँदै गरेको जानकारी दिए। ‘खेलकुदमा निजी क्षेत्रले लगानी गर्ने गरी ऐन बनाउँदैछौँ’, कुसारीले भने, ‘त्यसलाई सुखद् दिनको सुरुवातको रुपमा लिनुपर्छ। त्यहीअनुसार तपाईंहरु अगाडि बढ्नुहोस्।’
अधिवेशनमा केन्द्रसहित सातै प्रदेशका प्रतिनिधिहरु सहभागी छन्। अधिवेशनले आजै नयाँ कार्य समिति छैन गर्नेछ।