सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले पुष्टि नभएको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भएकाे बताएका छन्।
राहुलले साेमबार सामाजिक सञ्जालमार्फत सञ्चारमाध्याममा आएका समाचारप्रति आपत्ति जनाउँदै राजनीतिक जीवन नै सिध्याउन खोजेकाे आराेप लगाएका छन्।
‘पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं’, उनले भनेका छन्।
सञ्चारमाध्यामले आफैँ न्यायालय बन्न खोजेकाे भन्दै महराले सञ्चारमाध्यमबाट एकहोरो आक्रमण हुनुको पछाडि आफूले केही नबुझेकाे जनाएका छन्।
कोही व्यक्तिसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत भएकाे पनि बताएका छन्।
उनले लेखेका छन्, ‘हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।’
उनले राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने दाबी गरेका छन्।
यस्ताे भनेका छन् राहुल
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफैँ न्यायालय बन्न खोज्नु हो। संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ।