सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्।
चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन्।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताएका छन् पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो।
कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीविरूद्ध जाहेरी परेको थियो।
उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन।
यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ। पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ।