प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर रहेका श्रमिकहरूको हित, भौतिक एवं सामाजिक सुरक्षा र आत्मसम्मानका लागि वर्तमान सरकार संवेदनशील रहेका बताएका छन्।
प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।
उनले स्वदेश र विदेशमा रहेका सबै श्रमिकहरुको योगदानलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउनु अहिलेको चुनौती भएकाे दाबी गरे।
सामाजिक सुरक्षाको दायरा बिस्तार र कोषको संस्थागत तथा संरचनागत सुधारमा सरकारले उच्च प्राथमिकताका साथ कार्य गरेकोले सामाजिक सुरक्षा कोष र यसबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्यता र सफलतामा सरकारले आफ्नो सफलता देखेको प्रधानमन्त्रीले जिकिर गरे।
‘नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु’, उनले भने।