उपप्रमुख ‘माइनस’ गर्न खोज्दा नगरप्रमुख आफैं चिप्लिए

कानून अनुसार मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहक तोकिन्छ तर झापाको शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा ‘रोशन’ ले उपमेयरलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक दिएका छन्।

एक साता लामो जापान भ्रमणमा जाँदा मेयरले वडा नंं ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। 

साउन ३१ देखि भदौ ५ गतेसम्मका लागि आफूले कार्यवाहकको जिम्मेवारी पाएको वडाध्यक्ष प्रसाईंले बताए।

झापाको शिवसताक्षीसँगै कमल गाउँपालिका, गौरादह र गौरीगन्ज नगरपालिकाका मेयर पनि जापान भ्रमणमा गएका छन्। 

तीनै स्थानीय तहका प्रमुखले उपाध्यक्ष तथा उपमेयरलाई निमित्त कार्यवाहकको जिम्मेवारी दिएका छन्।

यसमा उपमेयर कार्कीले पनि असन्तुष्टि जनाइन्। 'मेयरले उपमेयर हुँदाहुँदै अरूलाई कार्यवाहकको जिम्मेवारी दिन नमिल्ने हो, तर खै उहाँले किन वडाध्यक्षलाई दिनुभयो,' कार्कीले भनिन्।

यस विषयमा मेयर थोप्राले बोल्न मानेनन्। अहिले आफू काममा व्यस्त रहेको भन्दै फोन काटे।

उपमेयरलाई अवहेलित पार्ने गरी वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै मेयर थोप्राको सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ। 

कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्ले महिला भएकाले उपमेयरमाथि विभेद गरिएको बताउँछिन्।

'राजनीतिक रूपमा महिलालाई अहिले पनि कमजोर मानिन्छ, यो भनेको पुरुषवादी चिन्तन नै हो,' काफ्ले भन्छिन्, 'नभए स्थानीय सरकार सञ्‍चालन ऐनमा स्पष्ट लेखिएको व्यवस्थालाई कुल्चने आँट मेयरले किन गर्नुहुन्थ्यो?'

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईलाई कार्यवाहकको जिम्मेवारी दिएसँंगै नगर उपप्रमुख नरमाया कार्की समेत चकित बनेकी छन्। 

ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेख छ – उपप्रमुख कार्कीले भनिन्, म हुँदाहुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्षलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु।

शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित ‘जाइका’ नामक कृषि परियोजना सञ्चालनमा रहेको छ। 

सोही क्रममा जापानको कृषि प्रणालीको अवलोकनका लागि नगरप्रमुख थोप्रा जापान जाने भएपछि जिम्मेवारी वडाध्यक्ष प्रसाईलाई दिएका हुन्। 

उनले साउन ३१ गतेदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी दिएसँंगै कार्यालयमा अनुपस्थित छन्। नगरप्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँंगै शिवसताक्षी नगरपालिकामा खैलाबैला भएको छ।

नगरप्रमुख थोप्राले प्रसाईलाई कार्यवाहक दिएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, मालपोत कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक, नापी कार्यालय भद्रपुर/दमक, जनताको तटवन्धन कार्यालय गैंडेलाई दिएका छन्। उनले भदौ ५ गतेसम्मका लागि प्रसाईलाई कार्यवाहक दिएका हुन्।

नगर प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका हुन्। उनीहरुबीचको सामान्य तिक्तता थियो। 

नगरकार्यपालिका का एक सदस्यले भने नगरप्रमुखको यो कदमले उहाँहरुबीच को फाटो सतहसम्म आइपुगेको हो।

प्रकाशित मिति: : 2023-08-18 21:53:00

प्रतिकृया दिनुहोस्