ललिता निवास प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

File Photo
File Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारकाे ललिता निवास जग्गा हिनामिना प्रकरणकाे अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ।

सीआईबीले मंगलबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयलाई बुझाएको हाे।

उक्त प्रकरणमा सीआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित २ सयभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।

सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरेकाे थियाे। साे अनुसन्धानकाे प्रतिवेदन सरकारी वकीलमा बुझाइएकाे हाे।

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो। तर, दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता भएकाे थियाे। 

प्रकाशित मिति: : 2023-08-22 11:56:00

प्रतिकृया दिनुहोस्