बल-ब्याट बिसाएका पारस अब ‘क्रिकेट-राजनीति’मा

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य चयनपछि पारस खड्का। तस्बिर : फेसबुक

एक दशक नेपाली क्रिकेटमा एकछात्र राज गरेका पारस खड्का अब क्रिकेटको नेतृत्व सम्हाल्न कस्सिएका छन्।

दुई वर्षअघि बल र ब्याट बिसाएका पारस अब क्रिकेट राजनीतिको मैदानमा देखिनेछन्।

त्यो बेला उनले राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। अब उनले समग्र क्रिकेट क्षेत्रकै नेतृत्व लिन राजनीतिक पाइला अघि बढाएका छन्।

लामो समय नेपाली क्रिकेटको नेतृत्व गरेका खड्काले अब आफ्नो पाइला बिस्तारै राजनीतितर्फ मोडिरहेका छन्।

सन २०२१ मा खेल जीवनबाट सन्यास लिँदै गर्दा खड्काले नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा आउने संकेत गरिसकेका थिए।

हरेक चार वर्षमा हुने क्यानको चुनावमा उनी यसपटक भने देखापर्ने भएका छन्।

यतिबेला क्यानको जिल्लाको चुनाव सकिएको छ। आउँदो १५ गते प्रदेश चुनाव तथा असोज ५ र ६ गते केन्द्रीय चुनाव हुँदैछ।

दुई वर्षअघि खेलबाट सन्यास लिएका उनले घरेलु लिग खेल्ने बताएका थिए। बेलाबखतमा मात्र खेलमा झुल्किने उनी बिस्तारै त्यहाँबाट पनि बिदा भए।

अन्तरर्राष्ट्रिय त्रिकेटबाट सन्यास लिएको दुई वर्षपछि उनी गत साउन ३० गते पहिलोपटक काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य चयन भए।

‘मलाई जिल्ला सदस्य कार्यसमिति बनाई आधिकारिक रुपमा नेपाली क्रिकेटको विकास तथा विस्तारको लागि अघि बढ्न सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दछु’, क्यानको जिल्ला सदस्य भएपछि उनको यो अभिव्यक्तिको एउटा स्पस्ट सन्देश थियो, अब केन्द्रीय समितिको यात्रा।

खेलाडीबाट खेल राजनीतिको यात्रा

एक समय नेपाली क्रिकेटको ‘ब्याटिङ’ धानेका थिए, पारस खड्काले।

दश वर्ष लामो कप्तानी भूमिका निर्वाह गरेका उनले अब सम्पूर्ण क्रिकेट जगत धान्ने तागत राखेका छन्।

उमेर समूहबाट खेल्दै आएका पारसले १० वर्ष नेपाली राष्ट्रिय क्रिकेटको कप्तानको भूमिका निर्वाह गरे। उनकै कप्तानीमा विश्वले नेपाली क्रिकेटलाई चिन्ने मौका पायो।

नेपालले पहिलोपटक २०१४ मा टि- २० विश्वकप खेल्दा उनले टोलीको नेतृत्व गरेर नेपाली क्रिकेटमा एउटा इतिहास रचे। यो खेलले एउटा उचाइ मात्र लिएन पारस आफूले आफैंलाई एउटा अब्बल खेलाडी र नेतृत्वकर्ता सावित गरे।

सन् २००९ मा तत्कालीन कप्तान विनोद दासलाई विस्थापित गरेर पारस राष्ट्रिय टोलीको कप्तानीको भूमिकामा आएका थिए। उनी त्यसअघि यु– १९ को उपकप्तानकाे भूमिका निर्वाह गरिसकेका थिए।

दश वर्ष लामो कप्तानीको प्रतिफल उनले अहिले पाइरहेका छन्, उनका समर्थक मात्र नभई सम्पूर्ण खेल जगतले पनि पारस क्यानको नेतृत्वमा आउनपर्छ भन्दै आवाज उठाइरहेका छन्।

क्यानको विधानअनुसार कुनै पनि खेलाडीले आफू दुई वर्ष अघिदेखि खेलमा सक्रियता नभएपछि मात्र चुनावमा लड्नपर्छ। सोही अनुरुप गत साउन १९ गते पारसले सन्यास लिएको दुई वर्ष बितेपछि काठमाडौँ जिल्ला संघको सदस्यमा लडेका हुन्।

उनी पहिलो प्रयासमै सफल भए जहाँ उनी सदस्यमा चयन भए। जिल्ला सदस्यमा चयन भएसँगै पारसको अब राजनीतिक यात्राको ढोका खुलेको छ।

काठमाडौंमा जन्मिएका पारस सन् २००४ बाट नै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आइरहेका थिए। उनले खेलाडी रहँदादेखि नै क्यानभित्र रहेको गतिविधिहरुमाथि आवाज उठाउँर्थे।

उनी नेपाली खेलकुद जगतको एउटा खेलाडी मात्र नभई सफल कप्तानको रुपमा परिचितसमेत छन्।

खेलाडी जीवनमै संरचना तथा खेल गतिविधिबारे बोल्दै आएका उनले अब आफ्नो राजनीतिक जीवनमा पनि क्रिकेटलाई उचाइमा लैजान बताएका छन्।

बाग्मती प्रदेशको अध्यक्षमा लड्ने तयारी

काठमाडौँ जिल्ला क्रिकेट संघमा सदस्य चयन भएपश्चात पारस अब बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा लड्ने तयारीमा छन्।

पहिलोपटक नै जिल्ला संघमा सदस्यता पाएका उनमा धेरै आशा जागेको छ। उनी जिल्लाबाट सदस्य हुँदै प्रदेश र प्रदेशबाट केन्द्रीयमा जाने तयारीमा छन्। उनी धेरै जनाको लागि अहिले चासो बनेका छन्।

जिल्लादेखि संरचनाबाट आउनपर्ने हुनाले आफू त्यहीँ लागिरहेको पारसले बताए। ‘म काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएँ, जिल्लाबाटै संरचना बनाउँदै आउनपर्ने भएकोले म अहिले त्यतै लागिरहेको छु’, उनी भन्छन्, ‘त्यसपछिको योजना म केही दिनमा घोषणा गर्छु।’

दुई वर्षअघि नेपाली क्रिकेटलाई उचाइमा पुर्याउनका लागि क्रिकेटबाट सन्यास लिएका उनले अब आफ्नो पाइला राजनीतिक यात्रातर्फ बढाइसकेका छन्। धेरैले उनलाई केन्द्रीय चुनावमा लड्ने बताएका पनि कसैले भने उनलाई बाग्मती प्रदेश अध्यक्षमा लड्ने बताइरहेका छन्।

उनी जिल्लाबाट प्रदेश हुँदै केन्द्रीयमा जाने तयारीमा छन्। ‘जिल्लाबाट चयन भएलगतै मलाई धेरै जनाले यस बारेमा सोधनुभएको थियो’,  पारसले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘प्रदेश चुनावमा म अध्यक्षमा लड्नेछु। यसबारे म केही दिनमा घोषणा गर्छु।’ प्रदेशपछि केन्द्रीयमा जाने उनले सङ्केत गरेका छन्।

पारससँग नेपाली क्रिकेटको आशा

नेपाली क्रिकेट जगतमा चर्चित पात्र हुन्, पारस खड्का। खेल क्षेत्रबाट हजारौँलाई दर्शक बनाउन सफल भएका उनी क्रिकेट व्यवस्थापनका लागि आउन लागेको भन्दै प्रंशसा बटुलिरहेका छन्।

क्रिकेट जगतमा एक दशक राज गरेका खेलाडी क्यानकै व्यवस्थापनमा आउन लाग्दा उनीबाट धेरै जनाले आश राखेका छन्।

उनले आफू सन्यास लिने बेलै नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्याउने संकल्प लिएका थिए।

पारस नेपालमा मात्र नभई अन्तराष्ट्रियस्तरमा पनि प्रख्यात छन्, उनी नै नेतृत्वमा आएपछि नेपाली क्रिकेटको अवस्था पनि सुध्रिने धेरैको आशा छ।

खेल क्षेत्रबाटै आएकाहरूले सम्हालेको खेल विधा केही सुधारिएको इतिहास पनि छ।

प्रकाशित मिति: : 2023-08-23 21:30:00

प्रतिकृया दिनुहोस्