पुँजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो गैडहवा गाउँपालिका

रुपन्देहीका १६ वटा पालिकामध्ये गैडहवा गाउँपालिका पुँजीगत खर्चमा सबैभन्दा अगाडि देखिएको छ। पालिकाले २०७९/०८० मा सम्पादित कार्यक्रमअन्तर्गत पुँजीगततर्फ ८७ प्रतिशत बजेट खर्च गर्दै विकास निर्माणका कामलाई अघि बढाएको छ।

गैडहवा गाउँपालिकाको आर्थिक वर्ष ७९/०८० मा सम्पादित कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीमा सीमित स्रोत साधनका बीचमा पनि पालिकाले पुँजीगततर्फ ८७ प्रतिशत खर्च गर्ने पहिलो पालिका भएको बताएको छ।

आगामी वर्ष यसलाई बढाएर ९० प्रतिशतभन्दा माथि पुर्याउने गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए। गैडहवापछि पुँजीगत खर्चमा सियारी गाउँपालिकाले ८४ प्रतिशत खर्च गर्दै दोस्रो भएको छ।

‘स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन गर्न भौतिक, आर्थिक, सामाजिक विकास गर्दै विकास र समृद्धिको जनआकांक्षा पूरा गर्ने प्रमुख दायित्व जनप्रतिनिधि, कर्मचारीलगायत हामी सबैको हो’, वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष पौडेलले भने  ‘१ देखि ९ सम्मका विभिन्न वडाले ९६ प्रतिशतसम्म बजेट खर्च गरेको र जनताको अति आवश्यक कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

उनले १७ करोड ३५ लाखमा सूर्यपुरामा १५ शैयाको अस्पताल निर्माण भइरहेको र १ करोड ५० लाखमा नेपाली सेनाको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत रुपन्देहीकै ठुलो गैडहवा ताल पुन:निर्माण सम्पन्न भइ पालिकालाई हस्तान्तरण भइसकेको बताए।

चालु खर्च ८२ प्रतिशत रहेको बताउँदै पौडेलले विकास निर्माणको काममा ढिलासुस्ती गर्ने, समय लम्बाउने र निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पनि जनाए।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले सडक पिच, ढलान, ग्राभेल, स्तरउन्नति, नाली निर्माणका धेरै काम भएको भन्दै स्वास्थ्य, शिक्षा तथा कृषि र रोजगारलाई २०८०/०८१ मा विशेष प्राथमिकताका साथ अगाडि बढाएर लैजाने बताए।

उनले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाइँदै विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गरिने बताए। पन्थीले समीक्षा गोष्ठीमा जिल्लामै पुँजीगत खर्चमा पहिलो पालिका बनाउन अहोरात्र खट्ने वडाध्यक्ष, वडा सदस्य, स्थानीय उपभोक्ता, कर्मचारीलाई विशेष धन्यवाद प्रकट गरेका थिए।

कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पशु, रोजगार, लेखा, सामाजिक विकास /महिला विकास, लघु उधम, आयुर्वेद, भूमिहिन, दलित भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी शाखा, पञ्जीकरणलगायत विभिन्न शाखाका प्रमुखहरुले आ-आफ्ना प्रगति विवरण सुनाएका थिए।

उनीहरुले समृद्ध गैडहवाको विकासको नारालाई आत्मसात गर्दै जनसमुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै १ देखि ९ सम्मका वडा ध्यक्ष तथा वडा सचिवहरुले जनचाहना अनुरुप नागरिकहरुको घरदैलो सेवा प्रदान गर्ने आधारस्तम्भको रुपमा रहने स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाइने दाबी गरे।

गोष्ठीमा उपस्थित स्थानीयले समग्र गैडहवाको विकासका लागी हातेमालो गर्न सदैव तत्पर रहेको बताएका थिए। पालिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा सूचना अधिकारी गणेश भटराईको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: : 2023-08-29 16:48:00

प्रतिकृया दिनुहोस्