समाज रुपान्तरण र राष्ट्रिय एकता कायम गर्न चलचित्र क्षेत्रको महत्वपूर्ण जिम्मेवारी रहन्छ: मन्त्री शर्मा

File Photo
File Photo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक–सामाजिक रुपान्तरण तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई रक्षा गर्ने र मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलबार आयोजना गरेको राष्टिय चलचित्र पुरस्कार एवं सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिँदै आएको बताइन्।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई चलचित्र विशेष योगदान सम्मान, विशेष चलचित्र पुरस्कार, राष्टिय चलचित्र पुरस्कार र दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूर्वको झापादेखि पश्चिम महाकालीसम्म पुग्दा धेरै संस्कृतिको जानकारी प्राप्त गर्न सकिने र यी संस्कृतिको जीवन्तता उजागर गर्दै समाज रुपान्तरण र राष्ट्रिय एकता कायम गर्नु चलचित्र क्षेत्रको महत्वपूर्ण जिम्मेवारी रहेकाे बताइन्।

चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सचेतनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणका लागि योगदान गर्ने सशक्त माध्यम पनि भएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘चलचित्र आमसञ्चारको माध्यम भएकाले यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्नुपर्छ। चलचित्रले देशको बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय र भौगोलिक विविधतालाई पनि प्रतिनिधित्व गरेको हुन्छ। मुलुकका सबै भाषा, सँस्कृति तथा जातिको संरक्षण, सम्बर्धन र विकासका निम्ति चलचित्रको सशक्त भूमिका रहन्छ।’

चलचित्रमा लेखन पक्षको सशक्त प्रस्तुति र कथालाई जीवन्तता प्रदान गरी चलचित्रलाई सजीव तुल्याउन कलाकर्मीहरुको सक्षम अभिनयकला, प्राविधिक र निर्देशकको संयोजन क्षमता तथा कलात्मक प्रस्तुतिलगायतको सिर्जनशील पक्षको मूल्याङ्कन विभिन्न तह, क्षेत्र र पक्षबाट हुने उल्लेख गर्दै उनले यसरी हुने अनौपचारिक तथा प्रभावकारी मूल्यांकनका साथै राज्यको विभिन्न तहबाट औपचारिक रुपमा मूल्यांकन र सम्मान गर्ने गरिएको बताइन्।

नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समय सापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहने तथ्य औल्याउँदै चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताइन्।

यसका लागि गुणस्तरीय र समाज रुपान्तरणलाई सहयोग पुर्याउने कथावस्तु, सक्षम अभिनयकला र प्राबिधिक तथा निर्देशनको संयोजनबाट भरपुर मनोरञ्ज र अर्थोपार्जन गर्नेसक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा मन्त्री शर्माको रहेको छ।

मौलिक कथाहरुलाई प्रोत्साहन गर्न स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइएको र समाज रुपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र र वृत्तचित्र निमाणलाई प्रोत्साहन एवं प्रबर्धन गर्ने कार्यक्रम अघि सारिएको जानकारी पनि मन्त्री शर्माले दिइन्।

उनले भनिन्, ‘चलचित्र सम्बन्धी पूर्वाधारको विकासका लागि काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना प्राथमिकतामा राखी निर्माण प्रक्रिया अघि बढाइने छ। चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न कानुनमा पनि समसामयिक परिमार्जन गर्नु आवश्यक छ। चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको र यसलाई चाँडो पारित गर्ने हाम्रो प्रयास रहनेछ।’

यो सँगसँगै राष्ट्रिय चलचित्र नीति, २०७१ लाई समयसापेक्ष पुनरावलोकन गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै उनले निर्माण, प्रदर्शन तथा वितरणलाई व्यवस्थित गर्नका लागि सरोकारवाला सबै पक्षसँग छलफल गरी आगामी दिनका लागि ठोस नीति निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरेका थिए भने सदस्य सचिव विशाल सापकोटाले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2023-08-29 18:17:00

प्रतिकृया दिनुहोस्