पाल्पामा जिप दुर्घटना: मृत्यु भएका तीनै जनाको सनाखत

पाल्पाको जोर्तेमा पहिरोले जिप पुरिँदा मृत्यु भएका सबैको सनाखत भएको छ। बुधबार बिहान भएको उक्त घटनामा परी ३ जनाको मृत्य भएकाे थियाे भने ८ जना घाइते भएका थिए।

तानसेन-तम्घास सहायक राजमार्गको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको जिप पुरिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७ की ५० वर्षीया मनाकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका वडा नंं ३१ वर्षीय विनोद तिम्सिनाको रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक  विरेन्द्र थापाले जानकारी दिए।

मृतक तिम्सिनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिचान गरिएको डिएसी थापाले बताए। ढुङ्गासहितको सुख्खा पहिरोले जिपको पछाडिको भाग क्षतविक्षत भएको छ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको जिप बिहान करिब सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2023-08-30 12:01:00

प्रतिकृया दिनुहोस्