लुम्बिनी एमाले: शंकर पोखरेल गुटको छुट्टै भेला

नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सोमबार बुटवलमा भनिन्, ‘पार्टीभित्र कसैको गुट छैन, मिडियाबाट गलत प्रचार गरियो।’

तर, उनै पद्मा अर्याल काठमाडौँ नपुग्दै मंगलबार दिउँसो एमाले महासचिव शंकर पोखरेलनिकट केही केन्द्रीय सदस्य र प्रदेश स्तरीय नेताहरूले बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा गोप्य बैठक बोलाए। र, बैठकका मुख्य पात्र थिए– हरि रिजाल।

आरम्भ रिसोर्टको त्यो महासचिवनिकट गुटको बैठकमा एमाले नेताहरू बलराम अधिकारी, कुमार दसौदी, विमला घिमिरे, नारायण आचार्य, चेतनारायण आचार्य, भूमेश्वर ढकाल, तेजेन्द्र केसी, शिव सुवेदी, हुकुम बस्नेत, हरि रिजाल र मनोहर बुढाथोकी सामेल थिए।

बैठकमा उपस्थित ‘शंकर पोखरेल गुटका लुम्बिनी प्रदेश प्रमुख’ बलराम अधिकारीले महासचिवको सन्देश भन्दै गुटको बैठकमा झण्डै एक घण्टा बोले।

उनले एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट हरि रिजाललाई अध्यक्ष बनाउनुपर्ने चुनौती रहेको बताउँदै जिल्ला–जिल्लाबाट छानिएका प्रतिनिधिहरूलाई आफूतिर तान्न आग्रह गरे।

‘यो अधिवेशन हाम्रा लागि एउटा अवसर हो। लुम्बिनी प्रदेशमा विष्णु पौडेलले आफूनिकट नेताहरूलाई छानीछानी जिम्मेवारी दिँदा हामीहरू कमजोर भयौँ। यसपालि हरि कमरेडलाई अध्यक्ष बनाउनैपर्छ, नत्र हामीहरू झन् कमजोर हुन्छौँ,’ अधिकारीले भने।

महासचिव पोखरेलको गृहजिल्ला दाङमा उपाध्यक्ष विष्णु पौडेलनिकट र नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरूको भूमिकालाई लिएर उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन्।

‘दाङको अवस्था के हो। सन्देश राम्रो आइरहेको छैन,’ भेलामा सहभागी रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले भने, ‘मेरो जिल्लाबाट ५० प्रतिशत प्रतिनिधि थुतेका छौँ। तर दाङबाट झण्डै ४० प्रतिशत प्रतिनिधिहरू विष्णु पौडेलतिर छन् भन्ने हल्ला छ, सत्य के हो?’

महासचिवनिकट नेताहरूले एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई अस्तित्वको लडाइँ भनेका छन्।

‘यो चानचुने विषय होइन, हामीहरू मैदानमा आइसकेका छौँ, सके सहमतिबाटै हरि कमरेड अध्यक्ष बन्नुहुन्छ, नभए हामीहरू जित्नैपर्छ। जिताउनैपर्छ,’ एमाले केन्द्रीय सदस्य कुमार दसौँदीले भने।

एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १६ गतेदेखि बुटवलमा हुँदैछ। अधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधिसमेत निर्वाचित भइसकेका छन्।

अधिवेशनबाट छानिने नयाँ नेतृत्वका लागि राधाकृष्ण कँडेल र हरि रिजाल तीव्र आकांक्षी छन्। कँडेल एमाले लुम्बिनीका वर्तमान अध्यक्ष हुन् भने रिजाल पार्टी केन्द्रीय सदस्यसमेत हुन्।

‘एमालेभित्र भावी नेतृत्व’का रुपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको नेतृत्वका लागि आफूनिकट दुई नेतालाई अघि सारेका छन्।

उपाध्यक्ष पौडेलले पाल्पाका कँडेल र महासचिव पोखरेलले प्यूठानका रिजाललाई प्रदेश अध्यक्ष बनाउन खोजिरहेका छन्।

उपाध्यक्ष विष्णु पौडेलको साविक लुम्बिनी अञ्चल र महासचिव शंकर पोखरेलको राप्ती अञ्चलमा आ-आफ्नै प्रभाव छ। र, दुबैको आ–आफ्नै समूह। एकअर्काको गृहजिल्लामा समेत उनीहरूले समूह निर्माण गरेका छन्।

प्रकाशित मिति: : 2023-08-30 13:00:00

प्रतिकृया दिनुहोस्