काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन्।
चीन सरकारको निमन्त्रणामा उनी ५ दिने भ्रमणका लागि बेइजिङ जाने तयारीमा थिए। तर चीनले केहीदिन पहिले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै बालेनले आफ्नो चीन भ्रमण रद्द गरेका हुन्।
उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीकाे संवेदनशीलतामाथि चालेको गलत कदम भएकाे भन्दै नैतिकताको आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको बताएका छन्।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ। त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, बालेनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
उनले लेखेका छन्:
हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौम्।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।