तस्करीको सामान बरामद गर्दा झडपमा दुई सशस्त्र प्रहरी घाइते

Symbolic photo
Symbolic photo

तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन्।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोकबाट बिहीबार राति ९:३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो।

हार्डवयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको हो तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनुपर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करिब १ सयदेखि १२० जना भेला भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाइबुझाइ गरेपश्चात फिर्ता भएको थियाे। तर सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे सो स्थानमा आई ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन्। यस्तै ना १ झ ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अस्वभावका साधनहरुमा समेत क्षति पुगेको छ।

त्यसबेला सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो। बरामद सामान स्थानिय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ।

प्रकाशित मिति: : 2023-09-01 16:54:00

प्रतिकृया दिनुहोस्