महानगर प्रमुख बालेन्द्र साह (बालेन)की पत्नी सविना काफ्ले सवार सरकारी गाडी चेक÷जाँच गरेकोप्रति बालेको सचिवालयले आपत्ति जनाउँदै प्रहरीको आचरण र नियतमाथि प्रश्न गरेको छ।
सचिवालयले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी बलेन पत्नी सविनामाथि ट्राफिक प्रहरीबाट असभ्य व्यवहार आरोप लगाएको हो।
सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी काफ्ले सवार सरकारी गाडी सार्वजनिक बिदाको दिन अनुमतिबिना चलाएको भन्दै शनिबार साँझ ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले केही मिनेट नियन्त्रणमा लिएको थियो।
आफ्नी पत्नी सवार गाडी रोकेकोप्रति मेयर साहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् मर्यादाविपरीत ‘सिंहदरबारमा आगो लगाउने’सम्मको धम्की दिएका थिए।
मेयर बालेनले भनेका थिए, ‘भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
बालेनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला सचिवालयले विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको नियत र आचरणमाथि प्रश्न गरेको हो।
बालेनको सचिवालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले सामान्य मानवीय संवेदनाको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई अस्वभाविक र मनोमानी प्रश्न गरे।’
सचिवालयले ड्युटीमा रहेका ट्राफिक प्रहरीले मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन चेक÷जाँच गर्दा रुखो बोल्ने गरेको आरोप लगाएको छ। ‘यस्तो आचरणमा रहेका केही प्रहरी कारण समग्र प्रहरीको छविमा आँच आउन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ।
बिनानाम हस्ताक्षर गरिएको विज्ञप्तिमा बालेनले पोखेको आक्रोशबारे भने केही कुरा उल्लेख गरिएको छैन।
सचिवालयले आपतकालीन अवस्था रहेकोले प्रमिट नहुँदाहुँदै पनि सरकारी सवारी चलाएको स्वीकार गरेको छ।
बालेन पत्नी काफ्लेले एक हप्ताअघि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा दुई शिशुको जन्म दिएको र तीमध्ये एक शिशुको मृत्यु भएको अर्काे शिशु आइसियूमा रहेकोले बालेनको परिवार नियमित अस्पताल आउजाउ गर्ने गरेको बताइएको छ।
पारिवारिक जटिलताका बाबजुद बालेन भने भोलि हुने भारतविरुद्धको क्रिकेट प्रतियोगितमा नेपाली खेलाडीको समर्थ गर्न श्रीलंका प्रस्थान गरेका छ।