हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ।
अधिकारीलाई ब्यूरोमा बोलाएर बयान लिइएको प्रहरी स्राेतले जनाएकाे छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि उनलाई अध्यागमन विभागका महानिर्देशकबाट हटाइएकाे थियाे।
दावासँग अधिकारीकाे कनेक्सन रहेको पाइएपछि अध्यागमनबाट हटाएर गृह मन्त्रालय तानिएकाे थियाे। अहिले भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
सुन प्रकरणमा मंगलबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो। ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।