सरकारले पाठेघर क्यान्सरविरुद्धको खोप देशभर निःशुल्क वितरण गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही भदौ २७ गतेदेखि ३० गतेसम्म सात प्रदेशमा १४ वर्षका किशोरीलाई लक्षित गरी खोप वितरण गर्न लागेको हो।
सरकारले हाललाई उक्त खोप १४ वर्ष पुरा गरी १५ वर्ष ननाघेका किशोरीका लागि मात्रै लगाउने परिवार कल्याण महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सात प्रदेशमा ४५ हजार खोप आवश्यक पर्छ।
तर अहिले नौ हजार जनालाई मात्र पुग्ने खोप छ। यस पटक १९ हजार ९९८ खोप वितरण गरिने महाशाखाले जनाएको छ।
एचपिभी खोप (सेकोलिन) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने भएकाले नौ हजार किशोरीलाई मात्र खोप लगाइने योजना छ। ह्युमन प्यापिलोमा भाइरसका कारण महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप हाललाई दुई चरण लगाइने छ।
महाशाखाका अनुसार उक्त खोपको सुरुवात चरणमा काठमाडौँको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा वितरण गरिने छ। त्यसपछि दोस्रो चरणमा कोशी अस्पताल, नारायणी अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेल्धुरा अस्पतालमा वितरण गरिने छ।
एचपिभी खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान हुने चिकित्सक बताउँछन्।