कान्छा अध्यक्षकाे नमुना स्कुल 

भदाै १९ गते तातोपानी गाउँपालिका-६ हियाखोलास्थित कालिका आधारभूत विद्यालयले आफ्नाे १५औँ वार्षिकोत्सव मनायाे। वार्षिकोत्सवकाे अवसरमा विद्यालयमा पुस्तकालयसमेत उद्घाटन गरियाे।

पठन संस्कृतिकाे विकासका लागि बच्चैदेखि पुस्तक अध्ययन गर्ने बानीकाे विकास गर्न पुस्तकालय खाेल्ने याेजना बनेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले बताए।

उनी जिल्लामा गठन भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्ये सबैभन्दा कान्छा छन्। उमेरले भर्खर २१ कटेका उनीसँग विद्यालय व्यवस्थापन गर्न सक्ने गतिलाे सीप छ। यहि नै परिपक्वताकाे संकेत हाे। त्यसैले सारा गाउँलेकाे एक मतले उनलाई निर्वाचित गर्‍यो।

प्राय पाकाे उमेर र पहुँच भएकाहरु मात्रै विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भइरहेकाे स्थितिमा अपवादकाे रुपमा डिल्ली निर्वाचित भए। जुम्लाका १ सय ८० वटा सामुदायिक विद्यालयका अध्यक्षभन्दा कान्छा उनले याे अवधिसम्म थुप्रै पाका काम गरेका छन्।

'दलित समुदायकाे बाहुल्यता बढी भएको हुनाले पनि हामीलाई नेतृत्वकाे रुपमा अगाडि बढाउन सबै तयार हुनुभयाे,' उनले भने, 'त्यसपछि हामीले विद्यालयमा सक्रियता बढायाैँ। समस्या पहिल्याउन थाल्यौँ। काम त्यहीँबाट सुरु भयाे।'

गाउँलेले सुम्पेको जिम्मेवारीकाे भारी गह्रुंगाे भएपनि बाेझिलाे थिएन। त्यसैले उनी बाेक्न तयार भए। जति गह्रुंगाे जिम्मेवारीकाे भारी उति नै फराकिलो साेच बनाएर उनी विद्यालय व्यवस्थापन गर्न लागे।

आफ्ना छाेराछाेरी निजी शिक्षण संस्थामा पढाएर सामुदायिक विद्यालयमा राजनीति गर्ने संस्कार विकास भइरहेकाे वर्तमान समयमा सामुदायिक विद्यालयलाई नै आकर्षणकाे केन्द्र बनाउने साेच राख्नु नै समाज विकासकाे फराकिलाे आयतनभित्र छिर्नु थियाे। डिल्लीले त्यसै गरे।

विद्यार्थी भर्ना, छापामय कक्षाकोठा, विद्यार्थी, शिक्षक, अभिभावकको त्रिकोणात्मक सम्बन्ध, विद्यालय सुधार योजना, बालमैत्री कक्षाकोठा तथा शौचालयलगायत नुमना विद्यालयका सूचक निर्माण गर्नु उनकाे पहिलाे कर्तव्य थियाे। 'यी सबै काममा हामीले सफलता हात पार्दै गएपछि हाम्राे विद्यालय जिल्लाकै दोस्रो तथा पालिकाको पहिलो नमुना विद्यालय बन्न सफल भयाे,' उनले भने।

स्थापनाकाे १५ वर्षमा कालिका आधारभूत विद्यालयले थुप्रै उतारचढावहरु ब्यहाेर्‍यो। जसरी व्यापार चक्रमा उतारचढाव ब्यहाेरिन्छ। स्थापनाकाे केही वर्षमै नमुना स्कुलकाे रुपमा परिचित हियाखाेलाकाे ख्याति सँधै उस्तै रहेन।

विगतको साख जाेगाउन नसक्दा विद्यालयमा साेचे अनुरुपका विद्यार्थी भएनन्। जान्नेसुन्नेकाे सक्रियता घट्याे। तर उधाेगतिकाे याे स्थिति पनि लामाे रहेन। त्यसैले डिल्लीलगायतका युवाहरुकाे सक्रियतामा विद्यालयलाई पुनः नुमना बनाउने प्रयत्न भयाे। परिणाम फेरि हियाखाेलाकाे चर्चा चुलिन थालेकाे छ।

'सारा अभिभावकले दिएकाे जिम्मेवारी र भराेसालाई मेटिन नदिनका लागि मैले सकेकाे काेसिस गरिरहेकाे छु,' उनले भने, 'हामी जिम्मेवारीमा रहेका सबैमा मनैदेखि विद्यालय सुधार गर्नैपर्ने अठाेट छ। त्यसैकाे फल हाे, आज कालिका आवि वसन्तमा पालुवा पलाउँदै गरेकाे जस्ताे देखिँदैछ।'

उनले विद्यालय सुधार गर्ने, शिक्षामा गुणस्तर ल्याउनेलगायत लक्ष्य र योजना बाेकेका छन्। जुन उनकाे उमेरकाे हिसाब भन्दा बढीकाे साेच हाे। उनले आफ्ना नजिकका र मनकारी सबैको साथ सहयोग लिने भरपुर काेसिस गरिरहेका छन्।

विकट बस्तीको विद्यालयलाई सुगमका विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा प्रदानका लागि आवश्यक वातावरण बनाउनुपर्ने, शिक्षक विद्यार्थीको नियमितता र अभिभावकको सक्रियता गराउनुपर्ने उनका चुनाैती थिए।

'त्यसैले सुरुमै आफ्नो तीन वर्षे कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका लागि गर्न सकिने १५ बुदेँ योजना सार्वजानिक गरेकाे थिएँ,' उनले भने, 'जसमा विद्यार्थीलाई नि:शुल्क पोशाक वितरण गर्नेदेखि शिक्षकलाई नेपाली पोशाकमा ५० प्रतिशत अनुदान र विद्यालयको शैक्षिक गुणस्तर कायम राख्नेसम्मका योजना छन्।'

संविधानमा आधारभूत तहकाे शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको नि:शुल्क हुने उल्लेख गरिएको छ। उनले भने, 'तर धेरैजसाे सामुदायिक विद्यालयले नै शिक्षामा व्यापार गरिरहेका छन्। गरीब, विपन्न नभनी आईडी कार्डदेखि पोशाकका नाममा बर्मलुट गर्दै आएका छन्। यहि नै मेराे चित्त दुखाइकाे विषय थियाे।'

हियाखोलामा गरीब विपन्नहररु बढी छन्। धेरैकाे आयस्रोत गतिलाे छैन। हालसम्म कोही पनि सरकारी जागिरे नभएको गाउँ हाे। त्यसैले उनले सरकारकाे 'नि:शुल्क र अनिवार्य शिक्षा' नीतिलाई कार्यान्वयन गर्दै आईडी कार्डदेखि विद्यालय पोशाकसम्म नि:शुल्क वितरण गर्ने कामलाई प्राथमिकता दिए।

'मेरो कार्यकालको नयाँ कामका रुपमा नि:शुल्क पोशाक वितरणलाई लिएको छु। दोस्रो नयाँ काम विद्यालयका सबै शिक्षकले अनिवार्य नेपाली पोशाक दौरा-सुरुवाल लगाउनुपर्नेछ,' उनले भने, 'शिक्षकले लगाउने नेपाली पोशाकको खर्च ५० प्रतिशत विद्यालयले ब्यहोर्नेछ। यो नयाँ योजना हो। यस्ता योजनाले भेषभुषा संरक्षणमा जोड दिन्छ।'

तोकिएकै समयमा विद्यालय हाताभित्र प्रवेश गर्ने, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने, शिक्षक, अभिभावकसँग शिक्षण सिकाइकाे विषयमा अनिवार्य अन्तरक्रिया गर्ने, जीर्ण भवनको मर्मत, सम्हार तथा पुन: निर्माण गर्ने, अर्गानिक दिवा खाजालाई निरन्तरता दिने काम उनी आएकै मितिबाट सुरु भयाे।

विद्यालयमा कम्प्युटर शिक्षा दिने, फूलबारी व्यवस्थापन तथा वृक्षारोपण गर्ने, बालमैत्री तथा छापामय कक्षाकोठा व्यवस्थापन गर्ने, आरसीसी पक्की भवनको पहल गर्ने, महिनाको २ पटक शिक्षक र विव्यसका पदाधिकारीबीच बैठक गरी समस्या पहिल्याउने र समाधानका कदम चाल्ने काममा निरन्तरता दिएकै कारण कालिका आधारभूत विद्यालय आफ्नाे पुरानाे छवि फर्काउन सफल भयाे।

करिब ११० घरधुरी रहेको हियाखोला गाउँका १ सय ३८ विद्यार्थी कालिका आविमा अध्ययनरत छन्। जसमा दलित विद्यार्थीहरुको बाहुल्यता रहेकाे छ। जाे आफ्नाे विद्यालयका लागि जग भएकाे डिल्लीकाे भनाई छ।

खस्किँदाे सार्वजनिक शिक्षालाई प्रतिस्पर्धी बनाउन क्रियाशील डिल्लीले आफू विद्यालय व्यवस्थापन समितिमा आएलगत्तै थालेकाे सुधार अभियानले पूर्णता पाएकाे छ।

छाेटाे समयमै विद्यालयको रुप फेरिएकाे छ भने भित्री र बाहिरी वातावरणले धेरैकाे ध्यान खिचेकाे छ। अब डिल्ली, छाेटाे समयमा पुरानो छविलाई काम राख्न सकेकाे विद्यालय चाँडै नै जिल्लामा आफ्नाे प्रभाव विस्तार गर्ने सक्नेमा आशावादी छन्। 

प्रकाशित मिति: : 2023-09-09 14:53:00

प्रतिकृया दिनुहोस्