आन्दोलनको दोधारमा उभिएका विमानस्थल भन्सारका कर्मचारी

BreaknLinks
BreaknLinks

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले यही माघ १२ गते सामूहिक राजीनामा माग गरे। १३७ जना कर्मचारीले सरुवाको माग गर्दै भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई पत्र बुझाए।

पत्र बुझाएको १२ दिनसम्म भन्सार कार्यालयबाट कुनै प्रतिक्रिया आएन। त्यसपछि यही माघ २४ गते आइतबार कर्मचारीले अन्य अन्दोलनका कार्यक्रम घोषणा गरे, तीन घण्टा पेन डाउन (काम नगर्ने) गरे। २५ र २६ गते कार्गो जाँच पास पूर्ण रुपमा ठप्प पार्ने घोषणा गरे।

विमानस्थल भन्सार कार्यालय यस्तो कार्यालय हो, जहाँबाट धेरै राजस्व नेपाल सरकारले उठाउने गर्छ। त्यही कार्यालयको जाँच पास नै नगर्ने घोषणा गरेका छन्। आज (२५ गते सोमबार) कर्मचारी आन्दोलनमा उत्रँदै काम गरेका छैनन्।

किन भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा उत्रनुपर्यो?

कर्मचारीले प्रहरीले धरपकड गरेको कारण आन्दोलनमा उत्रनु परेको बताएका छन्। अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ६० केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको छ।

गएको साउन ३ गते भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यही सुन प्रकरणमा भन्सार विभागका कर्मचारीको मिलेमत्तो हुन सक्ने भन्दै सीआइबीले उनीहरुमाथि पनि अनुसन्धान गरेको छ।

तर कर्मचारीहरुले आफूहरुलाई बिना आधार पक्राउ गर्ने, धरपकड गर्ने काम भएको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन्। २५ र २६ गते (आज र भोलि) कार्गो जाँचपास पूर्ण रुपमा ठप्प पार्ने र त्यसपछि पनि आफ्ना माग सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम गर्ने कर्मचारीले चेतावनी दिए।

भन्सार कार्यालयका प्रमुख पाण्डेले काम ठप्प नभएको बताए। आन्दोलनरत कर्मचारी भने आन्दोलनका विषयमा बोल्न चाहँदैनन्। सोमबार बिहान साढे ११ बजे बिएल नेपाली सेवाको टाेली भन्सार कार्यालय पुग्दा केही कर्मचारी काम गरेका देखिएपनि केही आन्दोलनमा देखिएका थिए।

तर ती आन्दोलनरत कर्मचारीले आफ्नो कुरा प्रष्ट भन्न चाहेनन्। एक जना कर्मचारीले छलफलपछि काम भइरहेको बताए। अन्य कर्मचारी भने बोल्नलाई डराइरहेका थिए।

हामीले आन्दोलनरत कर्मचारीलाई प्रश्न गर्नु थियो। प्रहरीले अनुसन्धानको नाममा के दुःख दिएको हो? क–कसलाई दुःख दियो? कि अनुसन्धान नै गर्न नपाउने भनेर नाजायज माग गर्नुभएको हो? भन्ने प्रश्न सोध्नु थियो।

तर कर्मचारी मिडियामा बोल्न सकिरहेका थिएनन्। मिडियासँग बोल्न डराउनुको कारण के? कि कर्मचारीको पनि कैफियत छ? भन्ने खालका प्रश्नहरू उठेको छ।

प्रकाशित मिति: : 2023-09-11 20:45:00

प्रतिकृया दिनुहोस्