आतङ्वादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना

बिएल संवाददाता

न्यूयाेर्क

बाइस वर्षअघि अमेरिकामा भएको आतङ्कवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा न्यूयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ। सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ।

नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणमा हो। यो आतङ्कवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिए भने छ हजारभन्दा बढी घाइते भएका थिए। दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो।

आतङ्कवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रुवाहक चार वटा अमेरिकी विमान अपहरण गरेर न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका एक सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेका थिए। राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए।

चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्सेल्भेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो। चार वटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतङ्कवादी सवार थिए। उक्त आक्रमणमा १९ जना आतङ्कवादीले पनि ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2023-09-12 05:48:00

प्रतिकृया दिनुहोस्