जाते भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि राइजिङलाई

एकतर्फी जितका साथ यहाँ सम्पन्न प्रथम जाते भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि राइजिङ भेट्रान क्लब इटहरीले जितेको छ।

फाइनलमा केराबारी भेट्रान फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै राइजिङ भेट्रान च्याम्पियन बनेको हो।

राइजिङको जितमा रुद्र खड्का र बाघबिर तामाङले २–२ गोल गरे भने चुडामणि बस्नेत र लिलाराम मगरले थप एक–एक गोल गरेका थिए।

विजेता बनेको राइजिङले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता बनेको केराबारीले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो।

फाइनल खेलको म्यान अफ द म्याच राइजिङका लिलाराम मगर चुनिए। उत्कृष्ट गोलरक्षक पनि राइजिङकै तुलसी श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर केराबारीका राजेन्द्र धिमाल चुनिए। सर्वाधिक गोलकर्ताको पुरस्कार राइजिङका बाघबिर तामाङले हात पार्दा उत्कृष्ट मिल्ड फिल्डर केराबारिका प्रेम घिमिरे चुनिए।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति लेटाङ नगरपालिकाका पूर्व मेयर शंकर राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथोकीलगायतका अतिथिहरुले पुरस्कृत गरेका थिए। गत भदौ १८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: : 2023-09-12 11:47:00

प्रतिकृया दिनुहोस्