सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन सक्दैन भने। उनले भने, ‘आफ्नो कार्यादेशअनुसार  कर्मचारीले जोखिम उठाउन सक्नु पर्दछ।’

कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए। ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छ्याउने प्रवृत्तिले परिणाम दिँदैन’, उनले भने, ‘जिम्मेवारीमा जोखिम हुन्छ। सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ।’

प्रधानमन्त्री दाहालले भने, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूआत हुनु निकै राम्रो सुरूआत हो। राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ। यसले प्रभावकारी परिणाम दिन सकिन्छ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख गरिएको छ।

कार्यक्रममा दिइएको जानकारी अनुसार आव २०७८/७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकामा आव २०७९/८० मा सुधार आई २९०.५२ अर्ब भएको छ। त्यसैगरी वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकामा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको छ। त्यस्तै, रेमिट्यान्स प्राप्ति गतवर्ष १००७.३१ रहेकामा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै, आव २०७८/७९ मा आयात १३१.३ अर्ब रहेकामा यसवर्ष १२९.२ अर्ब, निर्यात १४.८ अर्ब रहेकामा यस वर्ष १३.५ अर्ब, व्यापार सन्तुलन ११६.५ अर्ब ऋणात्मक रहेकामा यस वर्ष ११५.७ अर्ब ऋणात्मक देखिएको छ। बजेट खर्च २०७९ साउनमा १.२४ प्रतिशत रहेकामा २०८० साउनमा १.९ प्रतिशत देखिएको छ।

उक्त ‘रिपोर्ट कार्ड’मा सरकारका विभिन्न मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका काम र त्यसको प्रगति विवरण उल्लेख गरिएको छ। यस आवमा अर्थ मन्त्रालयले नयाँ भन्सार ऐन मन्त्रिपरिषदमा पेस गरेको, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु घरेलु तथा साना उद्यम विकास कार्यक्रम प्रवर्द्धन गर्न नीतिको मस्यौदा तयार पारिएको, भैरहवा विशेष आर्थिक क्षेत्रमा ३३ केभिए सवस्टेशन निर्माण गरिएको, सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ‘ए’ सवस्टेशन निर्माण भएको कार्डमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-09-13 17:33:00

प्रतिकृया दिनुहोस्