प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले न्युयोर्क आइपुगेकै दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा स्थानीय समयअनुसार आइतबार साँंझ भेटबार्ता भएको हो ।

भेटबार्तापछि  प्रधानमन्त्री प्रचण्डले महासचिव एन्टोनियो गुटेरसलाई भेट्न पाउँदा खुशी लागेको बताएका छन् ।उनले भेटबार्ताका क्रममा नेपालको शान्ति प्रक्रियाको बाँकि काम, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको बताएका छन् । नेपाल र राष्ट्रसंघबीचको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्ने सहमति भएको पनि उनले जनाएका छन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै विहान न्युयोर्क आइपुगेका हुन् ।

उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले विहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनी शुक्रबार न्युयोर्कबाटै चीन भ्रमणका लागि शुक्रबार चीनको ह्वाउझोउतिर उड्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: : 2023-09-18 06:55:00

प्रतिकृया दिनुहोस्