भारत र क्यानडाबीचको ‘मित्रवत सम्बन्ध’मा एकाएक चिसोपना आएको छ।
भारतको दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलन सकेर फर्किएलगतै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भारत सरकारप्रति गम्भीर आरोप लगाएका छन्।
गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा ‘खालिस्तानी–नेता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो, त्यो हत्यामा भारतको संलग्नता’ रहेको भन्दै प्रधानमन्त्री ट्रूडोले सोमबार एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेका छन्।
क्यानेडियन शिख संगठनका नेताहरूले हरदीपको हत्यालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि औँला उठाइरहेका बेला क्यानडाका प्रधानमन्त्रीले समेत प्रश्न उठाएका छन्।
क्यानडाका प्रधानमन्त्री ट्रूडोले संसदमा बोलेको गम्भीर विषयलाई लिएर यतिबेला भारतीय जनता पार्टीका नेताहरू आक्रोशित छन्। भारतभर हल्लीखल्ली मच्चिएको छ।
क्यानडाको सुरक्षा निकायले भारत सरकारमाथि यही विषयलाई लिएर अनुसन्धान गरिरहेको छ। क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले क्यानडामा रहेका भारतीय गुप्तचर प्रमुखलाई देश निकाला गरिएको बताएकी छन्।
‘भारतमाथि आरोप सही हो भने यो हाम्रो सार्वभौमिकता र आधारभूत मान्यताको ठूलो उल्लङ्घन हुनेछ। अहिलेसम्म हामीले भारतका एक उच्च कूटनीतिज्ञलाई निष्कासित गरेका छौँ। प्रधानमन्त्रीले पनि यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेका छन्,’ उनले भनिन्।