हेटौँडाकाे घटना सेलाउन नपाउँदै कञ्चनपुरकाे श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ।
टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी नगरपालिका-५ मैनाहाका बाबुराम चौधरीका आफन्तले उपचारमा खटिएका अहेव नरेन्द्र प्रसाद गैरेमाथि गएराति सवा ११ बजे हातपात गरेका हुन्।
बेलौरीकै गोकुलपुर बजारमा बस्ने रामु भनिने राम बहादुर खड्काले ड्युटीमा रहेका अहेव गैरेमाथि हातपात गरेका हुन्।
घाइतेको घाउ सफाइ गरिरहेको समयमा आएका खड्काले आफूमाथि गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेव गैरेको भनाइ छ। उनले यसअघि पनि थुप्रैपटक यस्तो दुस्प्रयास भएकोले यो घटना सुनियोजित भएको बताएका छन्।
श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिएअनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारलाई भने खड्काले सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन्।
आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा र्पुयाएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागोसमेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको र आफूले धक्का मात्रै दिएको उनको भनाइ छ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेव गैरेले बताएका छन्।