कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ। यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिएका थिए।
शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन्। यो टोलीले सरसफाइ निरन्तरता दिने जनाइएको छ। उपाध्यक्ष डा लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बुद्धिष्टहरूको आस्थाको केन्द्र भएकाले सरसफाइ गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
गणका सहायक सेनानी रामचरण चौधरीको टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाइ गर्ने छ। आफूहरूले विगतमा पनि यस क्षेत्रको सरसफाइ गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाइ कार्य गर्ने सहायक सेनानी चौधरीले बताए।
तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतियोग्य बनाउन सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताएका छन्। विश्व सम्पदा सूचीको प्रस्तावित क्षेत्र पनि भएकाले प्रस्तुतियोग्य बनाउन सफाइ कार्य गरिँदै आएको उनले बताए।
तिलौराकोट दरबार राजा शुद्धोदनका गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्थासम्म २९ वर्ष बिताएको स्थान हो।