आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको अपरिपक्व शिक्षा विधेयकले देशमा द्वन्द निमत्याएको बताएका छन्।
सोमबार मौलापुर नगरपालिकाद्वारा निर्मित श्री राम जानकी आधरभूत विद्यालय, पथरा बुधरामको नवनिर्मित चार कोठे भवनको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन्।
सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरूको पेशागत हकहितको सुनिश्चित नगरेकाे बताउँदै उनले भने, 'यो विधेयकले राहत शिक्षक, बालविकास शिक्षक, निजी शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरूलाई चिन्न सकेको छैन्। समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरूप्रति राज्य यति धेरै उदाशीन, गैरजिम्मेवार एवं लापरवाही बन्न मिल्दैन', आजपा अध्यक्ष साहले भने।
अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन-स्रोतको भरमा निजी शिक्षकहरूले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ।
शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफूमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाफ सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन? संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरू कानुनको अधिनमा बस्नुपर्छ कि पर्दैन? भनेर उनले प्रश्न गरे।
मौलापुर नगरप्रमुख रिना कुमारी साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वविधायक कुन्दन कुशवाहा, आजपा प्रवक्ता चन्द्रभुषण साह, स्थायी कमिटी सदस्य मनोज यादव, सुधीर यादव, त्रिभुवन साह, नगर उपप्रमुख नागेन्द्र यादव लगायतका जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो।