पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

उनी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठसहित तीनजनालाई भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियारले श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा २०७८ फागुन १५ गते मुद्दा दर्ता गरेको थियो। उक्त मुद्धामा सुनाइ गर्दै श्रेष्ठलाई विशेष अदालतले दोषी ठहर गरेको हो।

अख्तियारले उनीसँग ६ करोड ९० लाख रूपैयाँबराबरको सम्पत्ति भए पनि ४ करोड ४५ लाख रूपैयाँको वैधानिक स्रोत पुष्टि नभएकाले त्यसलाई भ्रष्टाचार गरी कमाएको दाबी गरी २०७८ फागुन १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

शिक्षक पदबाट ०२६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी ०३६ मा शाखा अधिकृत भएका थिए। त्यसपछि विभिन्न मितिमा पदोन्नति हुँदै सचिवबाट ०६४ मा अनिवार्य अवकाश पाएका थिए। ०६९ चैत ६ देखि ०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा पुनःनिर्माण र खेलकुद मन्त्री भएका थिए।

प्रकाशित मिति: : 2023-09-25 20:17:00

प्रतिकृया दिनुहोस्