चार वडाध्यक्षको आरोप: चन्दननाथको बजेटमा मेयर र उपमेयरको मनपरी

मेयर-उपमेयर भन्छन्: हाम्राे नाममा एक पैसा छैन

BreaknLinks
BreaknLinks

जुम्लाको चन्दननाथ नगरपालिकाका चार जना वडाध्यक्षहरूले मेयर–उपमेयरले बजेटमा मनपरी गरेकाे आराेप लगाएका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट बाँडफाँडमा राजनीति हावी गराउन खाेजिएकाे उनीहरूकाे आराेप छ।

वडा नम्बर ५ का वडाध्यक्ष बिर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नवराज शाहीले संयुक्त अपिल सार्वजनिक गर्दै बजेट बाँडफाँट नगरी मेयर–उपमेयरले मनपरी रुपमा वडामा बजेट पठाउन थालेको प्रति विरोध जनाएका हुन्।

'हामीलाई जम्मा १६ लाख विकास बजेट दिइएकाे छ। यो कनिका छरे जस्तो बजेटबाट वडाको विकास नभई वडावासीहरूबीच मनमुटाव हुने र जनप्रतितिको गरिमा घट्ने देखिन्छ,' १० नम्बर वडाका अध्यक्ष नवराज शाहीले भने, 'यो अपजसको भागिदार मेयर, उपमेयर नै हुनुपर्छ। स्थानीयस्तरमा विकासको मूल फुटाउनुपर्ने जनप्रतिनिधिले कलहको बीउ रोप्नुभएकाे छ।'

उनीहरूले मेयर–उपमेयरलाई आफ्नो स्वच्छाचारी प्रवृत्ति त्यागेर वडाको विकासमा जुट्न अपिल गरेका छन्।

'कम स्रोतसाधनका बाबजुद पनि अधिकतम जनताले लाभ लिन पाउने संयन्त्रको विकास गर्नु जनप्रतिनिधिको धर्म हो,' उनीहरूकाे भनाइ छ, 'जनताले दिएको मतले इमान्दारीपूर्वक काम गर्नुपर्ने भन्छ। तर मेयर–उपमेयरले जनताकाे काम गर्न नचाहेकाले वडाबासीलाई एक हुन अपिल गर्दछाैँ।'

नगरपालिकाका ४ जना वडाध्यक्षहरूले वडाको आवश्यकताको आधारमा नभई मेयर, उपमेयरले मनपरी रुपमा बजेट दिएको आराेप लगाएका छन्।

'मेयर–उपमेयरले बजेटमा पार्टी राजनीति मिसाउन खोज्नुभएको छ,' चन्दननाथ–७ का वडाध्यक्ष गणेश बहादुर महत भने, 'पार्टीइतरका जनप्रतिनिधिको हकअधिकार कुण्ठित भएकाे छ। प्रजातन्त्रमा अल्पमतको कदर हुन्छ। तर अल्पमतको अस्तित्वलाई नकार्दै जबर्जस्ती आफूहरूको निर्णयमात्रै लाद्न खोज्नु निरंकुशता भएको हाम्रो ठहर छ।'

यता मेयर राजुसिंह कठायतले वडाध्यक्षहरूले लगाएकाे आराेपलाई मिथ्या भन्दै खण्डन गरेका छन्।

'हामीले कुन शीर्षककाे कति बजेट कसरी कब्जा गरेका छाैँ र उहाँहरूले यस्ताे आराेप लगाएर अपिल सार्वजनिक गर्नुपर्ने स्थिति आयाे?,' उनले भने, 'उहाँहरूले आराेप लगाउनु अगाडि याे कुरा पुष्टि गर्न सक्नुपर्छ। नगरसभाका ५२ जना सदस्यमा ४८ जनाले बजेट बाँडफाँटमा सहमति जनाउनु भएकाे छ। कार्यपालिकाका १६ जना सदस्यलाई साेध्नुस्, हामीले बजेट कसरी कब्जा गरेका छाैँ भनेर। याे सरासर झुटाे आराेप हाे?'

वडाध्यक्षहरूले वडाको विकासमा मेयर–उपमेयर बाधक बनेको र अनेक बहाना बनाएर बजेट कब्जा गरी वडाको विकास र वडाबासीको समृद्धिको चाहनामाथि कुठाराघात गरेकाे बताएका छन्।

'सबै बजेट नगरमा राखेर वडालाई जम्मा १६ लाखमात्र पठाइएकाे छ। हाम्राे असहमति यसैमा हाे,' ५ नम्बर वडाका अध्यक्ष कार्कीले भने, 'हामी नगरपालिकाले गरेको अन्यायविरुद्ध चुप लागेर बस्दैनाैँ।'

वडाध्यक्ष कार्कीका अनुसार बजेट निर्माण गर्दा मेयर–उपमेयरले कानुन संगत रुपमा जान इच्छा गरेका छैनन्। बहुमतकाे दम्भ देखाएका छन्। जसले जनताको विकासको चाहना निराशामा बदल्नेछ।

नगरपालिकाका सबै वडाका बासिन्दा नगरका भएकाले सबै क्षेत्रकाे विकास गर्नु मेयर, उपमेयरकाे दायित्व भएकाे उपमेयर रामदेवी खड्काले बताइन्।

'हामीले विषयगत शाखामा बजेट पढाइसकेपछि जम्मा २ कराेड ४५ लाख मात्रै बचेकाे थियाे। सबै वडामा बजेट बाँडफाँट गर्दा १६ लाख मात्रै परेकाे हाे,' उनले भनिन्, 'हामीले हरेक वडामा ३३ लाख पठाएका छाैँ। अघिल्लो वर्ष ६० लाख पठाएका थियाैँ। याे वर्ष बजेट नै कम आयाे। हाम्राे नाममा कुनै बजेट छैन। ८५ लाख बजेट अहिले पनि डल्लो राखिएकाे छ। त्याे बजेट अन्तिममा सबै वडामा जाने त हाे नि।'

जग्गा खरिददेखि अनेक बहानामा मेयर र उपमेयरले बजेट कब्जा गरेर वडाका विकास तथा वडाबासीकाे समृद्धिकाे चाहनालाई कुठाराघात गर्न खाेजेकाे भनी लगाएकाे आराेपमा नगर प्रमुख कठायतले दमकल, एम्बुलेन्स, गाडीलगायतका साधनहरू राख्नलाई पार्किङ नभएकाले नगरकाे जग्गा खरिदकाे लागि एक कराेड २० लाख छुट्याइएकाे भनी जवाफ दिएका छन्।

बजार अव्यवस्थित भएकाे र बसपार्क सञ्चालन गर्न समेत समस्या भएकाे हुँदा नगर प्रहरी भर्ना गर्न ७५ लाख बजेट छुट्याइएको उपमेयर खड्काले बताइन्।

'हामीले याे वर्षकाे बजेट आवश्यक भएकाे हुनाले जग्गा खरिदकाे लागि छुट्याएका छाैँ। कथमकदाचित जग्गा खरिद हुन नसकेकाे खण्डमा त्याे बजेट पुन: वडामै त जाने हाे नि,' उनीहरूकाे भनाई छ।

नगरपालिकाले बजेट पास गर्न आयोजित नगरसभाबाटै बदमासी सुरु गरिएको १० नम्बर वडाका अध्यक्ष शाहीले बताए।

'बन्दसत्रमा मेयर–उपमेयरले असार २४ गते सिस्टम बन्द हुने र अन्य रकमको हिसाबकिताब हुने भएकोले पछि डल्लो बजेट बाँड्ने भन्नुभएको थियाे,' उनले भने, 'तर भत्ताको प्रलोभन देखाएर धमाधम सदस्यहरूलाई हस्ताक्षर गर्न लगाएर एकलौटी कब्जामा लिइयाे।'

नगरसभाका सदस्यहरूलाई हल्का टिप्पणी गरेर भत्तामा बिके भनी हल्का देखाउन खाेज्नु स्वभिमानमाथि धावा बाेलिएकाे मेयर कठायतकाे टिप्पणी छ। उनले भने, 'उहाँहरूले विवेक प्रयाेग गरेर सही गर्नुभएकाे छ। हामीले सबैलाई बजेटकाे सीमितताकाे विषयमा बुझाएका छाैँ। याे कुरा उहाँहरू चार जना वडाध्यक्षलाई पनि थाहा छ। तर पनि बखेडा झिकिरहनुभएकाे छ।'

मेयर कठायतका अनुसार अघिल्लो वर्ष सबै वडामा एकमुष्ट ६० लाखका दरले बजेट विनियोजन गरे पनि याे वर्ष ३३ लाखका दरले विनियोजित गरिएकाे छ। उनले भने, 'उहाँहरू चार जना वडाध्यक्षले माग गरेजस्ताे बढी बजेट हामीले घरबाट दिने हाेइन। संघ सरकारले दिने बजेट नै घटेर आएकाे छ। थप बजेट कसरी दिउँ?'

नगरपालिकामा अहिले पनि ८५ लाख बजेट कुनै शीर्षक नछुट्याई राखिएकाे छ। हिउँदे अधिवेशनबाट आवश्यकता परेकाे ठाउँमा विनियोजन गर्ने उपमेयर खड्काले बताइन्।

प्रकाशित मिति: : 2023-09-29 19:25:00

प्रतिकृया दिनुहोस्