भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन्।
आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका– २ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका– २ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन्। उनको टाउकोमा चोट लागेको छ। कलशाको हाल गाजरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
यस्तै विद्यालयबाट घर फर्किरहेका बेला भूकम्पका कारण सडक माथिबाट खसेको ढुङ्गा लागेर खुट्टामा चोट लागेकी नीराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। यसका साथै जिल्लामा भूकम्पबाट भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
भूकम्पबाट सिगास गाउँपालिका– ३, घकुराडीका रघुवीर साउदको घरमा क्षति पुगेको छ। सिगासकै लेकलुपण माविको भवनमा पनि क्षति पुगेको छ।
आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलव ३, ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलव ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।