गुठीचाैरका ‘हाकिम’ हाजिर भएकाे एक महिनामै ‘टाप कसे’, फर्काउन खाेज्दा एयरपाेर्टमै तानातान

जुम्लाकाे गुठीचाैर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई सुटुक्क निस्किएका छन्। दसैँकाे मुखमा कामकाे चापकै बीच प्रशासकीय अधिकृत घर गएका हुन्।

उनी हिँडेपछि पालिका अस्तव्यव्त बनेकाे छ। पालिका अध्यक्षकाे बिदा स्वीकृतिबिना उनी हिँडेकाे बताइएको छ। पालिका अध्यक्ष दानबहादुर बुढाले आम गुठीचाैर बासीलाई धाेका दिएर प्रशासकीय अधिकृत भागेकाे बताएका छन्।

‘केही साताअघि प्रशासकीय अधिकृतले बिदा स्वीकृत गराइदिन भनेका थिए। कार्यालय सहयाेगीलाई भनेर भ्रमण आदेश स्वीकृत गरिदिन भनेका थिए,’ उनले भने, ‘तर, मैले दसैँ नजिकिँदै छ। धेरै भुक्तानी दिन बाँकी छ। काम सकाएर पछि जानू हाेला भनेर म गाउँ-गाउँकाे सडक सुधार गर्न मुरुली गाउँतिर लागे।’

उनकाअनुसार शुक्रबार पालिकामा आउँदा सेवाग्राहीले पालिका घेरेका थिए। तालाबन्दीसमेत गर्न खाजे। किन भन्दा, हाकिम भागे, हाम्राे भुक्तानी चाहियाे, हाकिम जहाज चड्न लागिसके। के हेरेकाे? भनेपछि केही वडाध्यक्षहरु एयरपाेर्ट गए पनि हाकिम फर्काउन सकिएन्।

पछि विमानस्थल आफू पनि पुगेकाे र हाकिमसाव गुठीचाैरका जनतालाई धाेका दिन लाज लाग्दैन भनेर एउटा शब्द मात्रै बाेलेर फर्किएकाे अध्यक्ष बुढाले बताए।

‘वडाध्यक्षहरु र हाकिमबीच तपाईं काममा फर्किनुहाेस् भनेर झाेला तानातान भएकाे रहेछ,’ अध्यक्ष बुढाले थपे, ‘जहाज चड्न बाेर्डिङ पास लिएर लाइनमा बसेका हाकिम फर्किने कुरै भएन्। दर्जनाैं याेजना र कार्यक्रमकाे भुक्तानी दिन बाँकी छँदै उनी भागेर घर गए। हरेक वातावरण सहज गर्दा गर्दै किन हाकिमले यस्ताे व्यवहार गरे त्याे थाहा छैन्। केही गराैं भन्दा पनि सधैं झमेला मात्रै आइलाग्छ।’

प्रशासकीय अधिकृत भागेर गएपछि गुठीचाैरका दर्जनाैं याेजना तथा कार्यक्रमकाे भुक्तानी राेकिएकाे छ। अध्यक्ष बुढाकाअनुसार एक जलविद्युत आयाेजनाकाे ८६ लाख, भवन निर्माणकाे १५ लाख, दिपेन्द्र लामाकाे २८ देखि ३० लाख, शंकर बहुउदेश्यीय माध्यमिक विधालयकाे २३-२४ लाख र मदिरा विश्रामस्थलकाे ९ लाख गरी झण्डै डेढ कराेड बढी रकम भुक्तानी गर्न बाँकी छ।

दसैँ नजिकएकाले निर्माण व्यवसयी, हाेटल व्यवसायी, उपभाेक्ता भुक्तानी दिन ताकेता दिए पनि हाकिम भागेपछि गुठीचाैरका नियमित कार्यसम्पादन अस्तव्यस्त भएका छन्। सहज वातावरणमा काम गर्न खाेज्दा पनि कुनै न कुनै हिसाबले बाधा अड्चन खेप्न परेकाे अध्यक्ष बुढाकाे भनाइ छ।

यता गुठिचाैर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले काज बिदाबाहेक अन्य बिदाका लागि अध्यक्षकाे स्वीकृति लिनु नपर्ने बताए।

उनले भने, ‘म आफैँ कार्यालय प्रमुख हाे। दसैँ अघिकाे ६ दिन बिदामा आएकाे छु। मलाई भाग्याे भनेर अतिरञ्जित गरियाे।’ उनले आफैँ बिदामा जान लागेकाे कुरा अध्यक्ष, उपाध्यक्ष र कर्मचारीलाई १० दिन अघिदेखि नै थाहा भएकाे बताए।

‘घरमा ६ महिनाकाे गर्भवती श्रीमती छन्। उनकाे स्वास्थ्यमा समस्या आएपछि तत्काल जानूपर्ने भएर शुक्रबार सबैलाई जानकारी गराएर आएकाे हुँ’ उनले थपे।

कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तलब, दसैँ पेश्की तथा जनप्रतिनिधिकाे सेवा सुविधा सबै भुक्तानी गरेर आएकाे उनकाे भनाइ छ।

‘शिक्षक र स्वास्थ्यकर्मीकाे आज-भाेलि र तलब पाेष्टिङ हाेला,’ उनले भने। आफ्नाे टेबुलमा आएका कुनै पनि फाइलकाे भुक्तानी नराेकिएकाे प्रशासकीय अधिकृत भट्टराईकाे दाबी छ।

उनले भुक्तानीका फाइल कहाँ बाँकी छन्? भनेर खाेज्दै नगएकाे र टेबुलमा आएका कुनै पनि फाइल नराेकिएकाे बताए।

गुठीचाैरमा काम गर्न कति सहज छ? जुम्ला आउँदा गुठीचाैरबारे केही बुझ्नु भएकाे थियाे? भन्ने प्रश्नमा हाकिम भुट्टराईले भने, ‘पूर्वजानकारी अनुसार नै घर जान लागेकाे मान्छे, त्याे पनि बाेर्डिङ पास भएर जहाज चड्न लागेकाे बेला झाेला तानातान गर्ने, असभ्य व्यवहार देखाउने, भाग्याे भन्ने जस्ता गतिविधिले काम गर्न कति सहज छ भन्ने बुझिहाल्नु भयाे नि?’

बिदामा घर जान लागेकाे भने पनि दसैँपछि गुठीचाैर फर्किने संकेत भने उनले देखाएका छैनन्।

गुठीचाैरकाे अध्यक्षमा बुढा निर्वाचित भएर पदवहाली गरिसकेपछि डेढ वर्षकाे अवधिमा मात्रै पाँच जना प्रशासकीय अधिकृत फेरिएका छन्।

अध्यक्ष बुढाले स्वयम् सेवक शिक्षक भर्ना गर्ने विषय अघि सारेपछि उक्त काम गर्न नसकिने विषयमा बिबाद हुँदा तीन हाकिम फेरिए। भर्खर आएका हाकिम भट्टराईसँग शिक्षक भर्नाकाे विषय अघि नबढाउने सहमति हुँदा पनि धाेका दिएर हाकिम किन भागेपछि आफू अचम्मित भएकाे अध्यक्ष बुढाकाे भनाइ छ।

प्रशासकीय अधिकृत भट्टराई भदाै १७ गते गाउँपालिकामा हाजिर भएका थिए। उनी असाेज २६ गते अर्थात् एक महिना ९ दिनपछि शुक्रबार घर जाने भन्दै सुकुक्क भागेर गएका छन्।

यसैबीच गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले शुक्रबार नै हाकिम भागेर गएकाे जानकारी र तत्काल निकाससहितकाे उपयुक्त निर्णयसहितकाे व्यवस्था गरिदिनु हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन्।

प्रकाशित मिति: : 2023-10-14 18:30:00

प्रतिकृया दिनुहोस्