घुम्न आएका पर्यटक काम गर्दैः कोदो टिप्छन्, साग केलाउँछन्

यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध ६ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे। बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास)मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्। 

यतिबेला होमस्टे सञ्चालकलाई बाली थन्क्याउने चटारो छ। तर भेगनमा आबद्ध पर्यटक भने होमस्टे सञ्चालकलाई काममा सघाउँछन्। काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार होमस्टेका सञ्चालक याम थापाले बताए। 

भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन्।  हालै कोरियाबाट एउटा समूह होमस्टेमा पुगेर फर्किसकेको छ। होमस्टेमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन्।

बाह्य पर्यटकले होमस्टेमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र होमस्टे सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन्। ‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्,’ थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन्।’

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको होमस्टे सञ्चालिका इन्द्रा थापाले बताइन। पाँचौँ समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन होमस्ेटमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए। 

बाह्य पर्यटकले यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: : 2023-11-08 08:22:00

प्रतिकृया दिनुहोस्