काठमाडौँमा निषेध छ !

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशभरिका मान्छे ल्याएर मंसिर ७ गते काठमाडौँमा ‘शक्ति प्रदर्शन’ घोषणा गरेपछि त्यसकै ‘काउण्टर’मा नेकपा एमालेको युवा संघले पनि त्यसैदिन काठमाडौँमा आन्दोलनको घोषणा गर्‍यो।

दुबैले एउटै ठाउँ ‘माइतीघर मण्डला’ रोजेका थिए। प्रसाईंको आन्दोलन बिथोल्ने नियतले युवा संघ पनि अघि आएपछि उसको व्यापक आलोचना भयो र त्यो आन्दोलनको स्वामित्व एमालेले नै लियो। त्यसपछि उनीहरू भेला हुने छुट्टाछुट्टै ठाउँ तय भएको छ।

देशभरिबाट आएका हजारौँ मान्छे सडकमा आउँदा बिहीबार र त्यसपछिका केही दिनसम्म काठमाडौँ अस्तव्यस्त हुनेछ। सम्भावित दुर्घटना टार्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले भने त्यसको पूर्वसन्ध्यामा निषेधाज्ञा जारी गरे।

काठमाडौँ जिल्ला प्रशासनले कम्तीमा एक महिनासम्म माइतीघर र वरिपरीका थुप्रै क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। माइतीघरमा महिनौँदेखि धर्ना बसिरहेकाहरूलाई सारेर शान्तिपार्कमा लगिएको छ।

ललितपुर जिल्ला प्रशासनले त ६ महिनाकै लागि केही ‘संवेदनशील’ ठाउँहरू तोकेर निषेधाज्ञा लगाएको छ।

प्रसाईं नेतृत्वको आन्दोलनका लागि मंगलबार साँझदेखि नै देशभरिबाट मान्छे आइरहेका छन्। काठमाडौँ उपत्यका छिर्ने नाकाहरूमा प्रहरीले चेकजाँच पनि कडा बनाएको छ। सबै नाकाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन छ।

बुधबार बिहानैदेखि उपत्यकाका मुख्य र भित्रि सडकहरूमा समेत प्रहरीको कडा निगरानी सुरु भएको छ। सडकभरि प्रहरी नै प्रहरी छन्।

बुधबारदेखि नै अस्तव्यस्त हुन थालेको राजधानी सहरमा बिहीबारका दिन अत्यावश्यक कामका लागिमात्रै सवारी साधनको प्रयोग गर्न भन्दै ट्राफिक प्रहरीले सूचना जारी गरेको छ।

यातायात प्रभावित हुने भएका कारण राजधानीका कतिपय स्कुलहरूले पनि बिदा दिएका छन्।

उपत्यकाको शान्ति सुरक्षाका लागि आवश्यक प्रहरीहरू तैनाथ र परिचालन गरिएको प्रहरी मुख्यालयले जनाएको छ। त्यसका लागि छिमेकी जिल्लाका प्रहरी बलहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। 

प्रकाशित मिति: : 2023-11-22 18:04:00

प्रतिकृया दिनुहोस्