गोखरास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ।
सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिएका छन्।
उनका अनुसार स्तरोन्नतिका लागि ४५ करोड र रिसोर्ट निर्माणका लागि ५५ करोड लगानी हुनेछ। उनका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो।
'एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ', उनले भने, 'अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ।'
उनका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ। यसका लागि सामान मगाइसकिएको उनले जानकारी दिएका छन्। उनका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ।
सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिएका छन्। उनका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ। 'रिसोर्टका लागि ५५ करोड लगानी हुने अनुमान छ। रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ', उनले भने।
मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उनको भनाइ। 'मनकामना मन्दिर दर्शनका लागि केबलकार प्रयोग गर्ने यात्रुमध्ये तीन प्रतिशत मात्रै भए रिसोर्ट राम्रोसँग चल्ने रहेछ, यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको हो', उनले भने।
सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ।