अनुमति बिना फोटो खिचेको भन्दै पत्रकारसँग जंगिए महासचिव, कारबाही गर्ने चेतावनी

संघीय संसदका महासचिव पद्यमप्रसाद पाण्डेले अनुमति बिना संसद परिसरमा आफ्नो फोटो खिचेर सञ्चारमाध्यममा प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई भेट्न जाने क्रममा संसद सचिवालय परिसरमा पत्रकारहरूले फोटो खिचेकाे भन्दै उनले आपत्ति जनाएका हुन्। 

फोटो सार्वजनिक भएपछि महासचिव पाण्डेले फेसबुकमार्फत अनुमति बिना फोटो खिचेको भन्दै पत्रकारलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

'संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ', उनले लेखेका छन्, 'मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।'
 

प्रकाशित मिति: : 2025-05-23 17:39:00

प्रतिकृया दिनुहोस्