समाजवादोन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय हाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्थाअनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन्।

सामाजिक सुरक्षा कोषद्वारा साेमबार यहाँ आयोजित छैठौँ सामाजिक सुरक्षा दिवस कार्यक्रममा उनले भने, ‘सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय हो।’

प्रधानमन्त्री दाहालले सुरुआती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचारलगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधा थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकामा आफूलाई खुसी लागेको उल्लेख गरे।

उनले स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमूना बन्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानूनी आधार तयार पारिएको प्रधानमन्त्री दाहालको भनाइ छ। सो कार्यक्रम प्रभावकारी बनाउने कार्यमा सशक्त भूमिका खेल्न स्थानीय तहलाई आग्रह गरे। 

प्रकाशित मिति: : 2023-11-27 17:48:00

प्रतिकृया दिनुहोस्